९ मंसिर २०८१, आईतवार
रुकुम पश्चिममा अस्थायी आवास बनाउन ५९ करोडभन्दा बढी निकासा

  • टाइम्स संवाददाता

  • २२ पुष २०८०, आईतवार १९:१२

रुकुमपश्चिम : रुकुमपश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास (टहरा) निर्माणका लागि हालसम्म ५९ करोड २ लाख रुपैयाँ निकासा भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका ६ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले दिएको जानकारीअनुसार २३ हजार ६०८ जना लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम पठाइएको हो। उक्त रकमबाट स्थानीय तहले २१ हजार १२५ जना लाभग्राहीको खातामा रुपैयाँ जम्मा गरिसकेका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालले चौरजहारी नगरपालिकामा ६ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा ६ हजार १६५ जना लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले रकम जम्मा भइसकेको बताए।

आठबिसकोट नगरपालिकामा ७ हजार लाभग्राहीको लागि पठाइएको १७ करोड ५० लाख रुपैयाँ ७ हजार जनाकै खातामा जम्मा भएको छ।मुसीकोट नगरपालिकामा १ हजार ३०५ जना लाभग्राहीको लागि पठाएको ३ करोड २६ लाख २५ हजार रुपैयाँमध्ये ६३४ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ।

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा ४ हजार ५७३ जना लाभग्राहीको लागि ११ करोड ४३ लाख २५ हजार रुपैयाँ पठाइएको छ। उक्त सबै रकम पालिकाले लाभग्राहीको खातामा जम्मा गरेको छ। त्रिवेणी गाउँपालिकामा पनि २ हजार ७५२ जना लाभग्राहीको ६ करोड ८८ लाख रुपैयाँ सबै लाभग्राहीको खातामा पुगेको छ।

बाँफिकोट गाउँपालिकामा १ हजार ६९९ जना लाभग्राहीको लागि पठाइएको ४ करोड २४ लाख ७५ हजार रुपैयाँ कुनै पनि लाभग्राहीको खातामा पुगेको छैन।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्रै गएको र नयाँ नआएकोले उक्त रकम लाभग्राहीले पाउन सकेका छैनन्।

१० हजारभन्दा बढी अस्थायी आवास निर्माण सरकारले उपलब्ध गराएको अनुदान रकमबाट जिल्लामा हालसम्म १० हजार ४२३ वटा अस्थायी आवास निर्माण भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ७ हजार ११७ वटा आवास निर्माण हुँदै छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालले हालसम्म आठबिसकोट नगरपालिकामा ३ हजार १४ वटा अस्थायी आवास बनेका र ४ हजार १ सय आवास निर्माणको चरणमा रहेको बताए।

चौरजहारी नगरपालिकामा २ हजार २८९ अस्थायी आवास निर्माण सम्पन्न हुँदा ३१५ वटा निर्माण भइरहेका छन्। मुसीकोट नगरपालिकामा हालसम्म २४ वटा अस्थायी आवास निर्माण भएका छन् भने ४८ वटा निर्माण हुँदै छन्।

सानीभेरी गाउँपालिकामा ४ हजार ४१ अस्थायी आवास निर्माण भएका छन् भने २ हजार २७ वटा निर्माण हुँदै छन्। प्रशासन कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकामा ९३८ अस्थायी आवास निर्माण भएका छन् भने ५५७ वटा आवास निर्माणको चरणमा छन्। बाँफिकोटमा गाउँपालिकामा ११७ लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएका छन् भने ४० वटा निर्माण हुँदै छन्।

Nabintech