९ मंसिर २०८१, आईतवार
महिला उद्यमी संघ बाँकेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा

प्रर्दशनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका ६५ भन्दा बढी स्टल रहने


  • टाइम्स संवाददाता

  • २३ पुष २०८०, सोमबार १८:३७

नेपालगन्ज : महिला उद्यमी संघ नेपाल बाँकेले नेपालगन्जमा सञ्चालन गर्न लागेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पुरा भएको छ । प्रर्दशनीको आठौं संस्करण मंगलबारबाट सुरु हुन लागेको हो ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले सोमबार पत्रकार सम्मेलन गरेर सबै तयारी पुरा भएको जानकारी दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा यही पुस २८ गते सम्म प्रर्दशनी चल्ने बताइएको छ । आयोजकका अनुसार स्थानीय बागेश्वरी मन्दिरको पार्कमा मंगलबार बिहान ११ बजे प्रर्दशनी उद्घाटन गरिनेछ ।

प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष रेवती सिंहले सम्पुर्ण तयारी पुरा भएको बताइन् । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान लगायतको सहभागिता रहने संयोजक सिंहले जानकारी दिइन् ।

सोही कार्यक्रममा महिला उद्यमीका क्षेत्रमा महत्वपुर्ण योगदान गरेकी महासंघ केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ । प्रर्दशनीमा महिला उद्यमीले स्थानीय स्तरमा उत्पादन गरेका ६५ भन्दा बढी स्टल रहनेछन् ।

संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले स्थानीय उत्पादन र महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्नमा प्रर्दशनीले सहयोग गर्ने विश्वास गरिन् । महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्दै महिलामा रहेको सीप, क्षमता र शक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्यले  प्रदर्शनी आयोजना गरिएको उनले बताइन् ।

महिला उद्यमी महासंघकी केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले महिलाको सीप, क्षमता र बजारीकरणमा यस्ता प्रर्दशनीले महत्वपुर्ण सहयोग पुर्याएको बताइन् । प्रदर्शनीका आर्थिक संयोजक शशी स्वाँरले सरकारी र निजी क्षेत्रका विभिन्न निकायको सहयोग र सहकार्यमा प्रर्दशनी सञ्चालन गर्न सम्भव भएको बताइन् । प्रदर्शनमा आएका स्टल मध्ये बाँकेका एक र जिल्ला बाहिरका एक स्टललाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Nabintech