लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सात वटै प्रदेशमा पठाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका दुई लाख ९८ हजार नौ सय १० जनालाई खोप लगाइँदै छ ।
सरकारले यही माघ २२ देखि आगामी फागुन ६ सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउने तयारी गरेको छ । प्रदेश मन्त्रालयले खोपलाई सुरक्षित भण्डारण गरी जिल्ला जिल्लामा पठाउने काम गरिरहेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। वासुदेव उपाध्यायले भन्नुभयो, “यही माघ २२ देखि प्रदेशका सबै जिल्लामा खोप अभियान चल्छ ।” उहाँले यसका लागि जनशक्ति व्यवस्थापन भइसकेको बताउनुभयो । स्वास्थ्यकर्मीका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन पापिलोमा भाइरस’ सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढङ्गले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य सङ्गठनबाट स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब छ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका बारेमा सचेतनाको कमीले गर्दा महिलाहरू क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन् । यसका कारण मृत्यु हुनेको सङ्ख्या बढी छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन पापिलोमा भाइरस’ सङ्क्रमण हो । यो सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने, धेरै जनासँग यौनसम्बन्ध बढाउने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिने कारणले हुने गरेको चिकित्सकले बताएका छन् । यो रोगबाट बच्न नौदेखि १५ वर्षका किशोरकिशोरीलाई एचपिभी खोप दिइन्छ । यौनसम्बन्ध राखिसकेका महिलाले कुनै समस्या नदेखिए पनि नियमित रूपमा सर्भाइकल क्यान्सरको स्क्रिनिङ गर्ने, प्याप स्मेयर, एलबिसी तथा एचपिभी, डिएनए टेस्ट गर्नु पर्छ । क्यान्सर भइसकेपछि समयमै पहिचान भयो भने पनि यसको जोखिमबाट बच्न सकिन्छ ।
यो रोगको धेरै जसो चरणमा रेडियोथेरापीले काम गर्छ । यस रोगको पहिलो र दोस्रो चरणको पनि सुरुमा पाठेघरको क्यान्सरसम्बन्धी जटिल शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर फैलिइसकेको अवस्थामा शल्यक्रिया गरेर मात्र पुग्दैन ।
यसको उपचारका लागि किमोरेडियोथेरापी पनि चाहिन्छ । ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउने कारण ‘ह्युमन पापिलोमा भाइरस’ हो । त्यसैले यसविरुद्धको खोप लगाइयो भने ९९ प्रतिशत नै यसको जोखिमबाट बच्न सकिन्छ ।