२९ माघ २०८१, मंगलवार
काठमाडौं केन्द्रित एकात्मक शासन व्यवस्था तल जान सङ्कोच मान्दा समस्या-महासचिव पोख्रेल

  • टाइम्स संवाददाता

  • २८ माघ २०८१, सोमबार ०८:११

काठमाडौं केन्द्रित एकात्मक शासन व्यवस्था तल जान सङ्कोच मान्दा समस्या-महासचिव पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको उपलब्धि भएको बताउनुभएको छ ।
आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले संविधान नेपालको लोकतान्त्रिक आन्दोलनको अत्यन्त ठुलो सपनाको दस्ताबेज भएको बताउनुभयो । ‘यो २००७ साल देखिको सपना पुरा भएको दस्ताबेजको अर्थमा जनताको संविधान हो’, उहाँले भन्नुभयो ।
पोखरेलले संविधान प्रति सबैको अपनत्व भएको बताउनुभयो । संविधान संशोधन भन्नुको अर्थ त्यस प्रतिको अनादर नभएको बताउँदै उहाँले सम्मान सहित त्यसले निर्धारण गरेको विधि र प्रक्रियामा प्रवेश गर्ने कुरा भएको स्पष्ट पार्नुभयो ।
नेकपा एमाले र कांग्रेस सरकारको सरकार बनाउँदाको सहमतिको एउटा बुँदामा संविधान संशोधनको विषय भएको उल्लेख गर्दै पोखरेलले देशमा स्थिरता सिर्जनाको लागि यसले महत्त्व राख्ने बताउनुभयो ।
पोखरेलले काठमाडौं केन्द्रित एकात्मक शासन व्यवस्था तल जान सङ्कोच मान्दा संविधान कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो । कतिपय कानुन निर्माणका क्रममा आएको जटिलता पनि त्यही मनस्थितिको उपज भएको पोखरेलले बताउनुभयो ।
निर्वाचन प्रणालीलाई सुधार गर्दा देशलाई स्थायित्व दिन सकिन्छ कि भनेर संविधान संशोधनका क्रममा छलफलको विषय बनाउनु पर्ने उहाँको धारणा छ । समावेशितालाई बलियो बनाएर निर्वाचन प्रणालीमा सुधार गर्न सकिने पोखरेलले बताउनुभयो ।
उहाँले नागरिक बलियो हुने हो भने राज्यलाई बलियो बनाउनु पर्ने बताउनुभयो । राज्य बलियो बनाउन राजनीतिक दल बलिया हुनु पर्ने धारणा राख्नु भयो । कसैलाई पनि कमजोर बनाएर राज्य बलियो नहुने पोखरेलले स्पष्ट पार्नुभयो ।

Nabintech