२४ जेष्ठ २०८२, शुक्रबार
समृद्धि र विकासको जगमा आगामी वर्षको बजेट निर्माण गर्छौं :मुख्यमन्त्री आचार्य

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८२, सोमबार १८:३१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएको छ ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बोधन गर्ने बताउनुभयो ।

ूसरकारले धेरै मेहनत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । त्यसको जगमा नै उभिएर बजेट ल्याउछौं । अहिले मन्त्रालयगत तहमा यही दिशामा काम अघि बढेको छ भन्ने विश्वास लिएको छुू, मुख्यमन्त्री आचार्यले भन्नुभयो, नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । एक अर्कालाई जोड्नेगरी काम अघि बढेका छन् । नीति तथा कार्यक्रमले बोलेको कुरालाई बजेटले सम्बोधन गर्नै पर्छ । सरकार गम्भीर भएर यसमा लागेको छ ।

त्यसैगरी, मुख्यमन्त्री आचार्यले प्रदेशलाई सार्वभौम र अधिकारसम्पन्न बनाउने गरी सङ्घीय तहमा सुझाव दिन आवश्यक रहेको धारणा राख्नुभयो । यातायात क्षेत्र प्रदेशको एकल सुचिमा परे पनि ट्राफिक जरिवानाको राजस्व प्रदेशमा दाखिला नहुने जस्ता व्यवहारिक समस्याको समाधानका लागि वातावरण तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

ूप्रदेशको आन्तरिक स्रोतको ठुलो हिस्सा वन हो । सङ्घीय कानुनका कारण प्रदेशले खुलेर काम गर्न सकेको छैन । सङ्घीय कानुन संशोधनका लागि पटक–पटक पहल गरेका छौँ,ू मुख्यमन्त्री आचार्यले भन्नुभयो, अहिले राजस्व सङ्कलनमा सुधार भएको छ । डेढ अर्ब राजस्व वृद्धी भएको छ । अपेक्षा अनुसार वनबाट राजस्व सङ्कलन हुन नसक्दा सरकारले चाहेका कामहरूलाई अघि बढाउन समस्या पर्दो रहेछ ।

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा स्रोत वृद्धिका लागि ध्यान दिइने बताउनुभयो ।

सो अवसरमा पूर्व अर्थ सचिव रामेश्वर खनालले कृषि, उद्योग, व्यापार, पर्यटन, नवीकरणीय ऊर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै, सबल नीति कार्यान्वयनबाट लुम्बिनीलाई आर्थिक केन्द्र बनाउन सकिने बताउनुभयो । पूर्व सचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवर्धनमा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले विधि, विवेक र आचरणमा सुधार गर्दै सदाचारको अभ्यास आवश्यक रहेको बताउनुभयो। दायित्व अभियानका अध्यक्ष डाक्टर पुकार मल्लले उद्यम–केन्द्रित रोजगारी सिर्जनामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले सार्वजनिक चासो र सरोकारका विषयहरूमा छलफल गर्दै परिमार्जन र सुझाव लिने गरी नीति संवादलाई चरणबद्ध रूपमा निरन्तरता दिइने जानकारी दिनुभयो ।

Nabintech