८ बैशाख २०८१, शनिबार
बाँकेमा कोभिड खोपको दुरुपयोगका बारेमा जिल्ला प्रशासनद्वारा छानविन शुरु

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७८, आईतवार १३:०९

बाँकेमा कोभिड खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्ति भन्दा आफन्त र नातागोतालाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ । लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री बिजय बहादुर यादवले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो बारेमा सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पठाउन निर्देशन दिनु भएको छ । प्रदेश सरकारको निर्देशन प्राप्त भएपछि सो बारेमा छानविन शुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज खड्का बहादुर रोकाले गाउँपालिकाका जनतालाई खोप नलगाएर अन्यत्रबाट आफ्ना निकटतम व्यक्तिहरुलाई बोलाएर लगाएको र केहि स्वास्थ्यकर्मीले ५ देखि ८ खोप आफ्नो घरमा लगेको कुरा सार्वजनिक भएको थियो । स्वास्थ्यकर्मीले कोभिड भ्याक्सिन आफन्तलाई लगाइएको आरोप स्थानीयले लगाएको गुनासो उठेपछि लुम्बिनी प्रदेश सरकारले छानविन गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दएको हो । सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर पहुँचको आधारमा गाउँपालिका वाहिरका व्यक्तिलाई बोलाएर नक्कली ठेगाना राखेर सहपुर्वा स्वास्थ्य केन्द्रले खोप लगाएको स्थानीयले जनाएका छन् । कोभिड खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउन स्थानीय निकायलाई निर्देशन भएपनि डुडुवा ४ का स्वास्थ्य चौकी इन्चार्ज रोकाले मनपरी तरिकाले खोपको दुरुपयोग गरेको स्थानीय नरेश खटिकले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाएको पाइएमा खोप दुरुपयोग गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गरिनेछ । खोप लगाउने व्यक्तिहरूको विवरण, खोप केन्द्र र खोप लगाउने कार्यमा संलग्न कर्मचारीको समेत विवरण संकलन सुरु गरिएको सो कार्यालयले जनाएको छ ।  यस्तै डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले पनि आइतबारबाट खोप अनियमितताका बारेमा छानबिन सुरु गरेको स्वास्थ्य संयोजक धन बहादुर बुढाले बताउनुभयो । -गोरखापत्रअनलाईनबाट

Nabintech