८ बैशाख २०८१, शनिबार
भेरी अस्पतालको ओपीडी सेवा आजदेखि सञ्चालनमा आउने

  • टाइम्स संवाददाता

  • १ असार २०७८, मंगलवार ०६:५८

बाँकेको भेरी अस्पतालले मंगलबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालमा संक्रमितको चाप घट्दै गएपछि ओपीडी सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले जानकारी दिए । उनले भने, ‘अस्पतालमा सोमबार ७३ जना मात्रै बिरामी उपचाररत छन् । अस्पतालमा संक्रमितको चाप घट्दै गएका कारण ओपीडी सेवा सञ्चालन गर्न लागेका हौं ।’ एक सातासम्म दैनिक १ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने उनले बताए । कोरोना महामारी उत्कर्षमा पुग्दा अस्पतालले प्राङ्गणमा टेन्ट राखेर संक्रमितको उपचार गराएको थियो । अस्पतालको प्रयोगशालाको तथ्यांक र कोभिड वार्डमा भर्ना भएका बिरामीको अवस्थालाई हेर्दा बाँकेमा कोरोनाको दोस्रो लहर क्रमिक रुपमा नियन्त्रण उन्मुख हुँदै गएको डा।थापाले बताए । संक्रमण तीव्र गतिमा फैलिएपछि नेपालगञ्जमा वैशाख ९ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । अस्पतालको तथ्यांक अनुसार संख्यात्मक हिसाबले वैशाखको तेस्रो हप्ता सबैभन्दा बढी संक्रमित देखिएको र भर्ना भएको देखिन्छ । वैशाख १ देखि १० गते २१७ जना , ११देखि२० सम्म २९४ जना र २१ देखि ३१ गते ३०९ जना नयाँ संक्रमित भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जेठ महिनामा ३७६ बिरामी भर्ना भएका छन् । जेठ १० गतेपछि भने परीक्षणको संख्या, संक्रमितको संख्या र नयाँ बिरामी भर्ना हुने संख्या क्रमशः घट्दै गएको अस्पतालले जनाएको छ । एकैदिन अस्पतालमा भर्ना हुने बिरामीको संख्या ३२६ सम्म पुगेकोमा हाल यो संख्या ७३ मा पुगेको अस्पतालले जनाएको छ ।

Nabintech