१६ चैत्र २०८०, शुक्रबार
कोहलपुर नगरपालिकाद्वारा पशु सुत्केरी भत्ता कार्यक्रम लागू

  • टाइम्स संवाददाता

  • २ असार २०७८, बुधबार १५:०८

बाँकेको कोहलपुर नगरपालिकाले पशुपालक किसानलाई प्रोत्साहन गरीे र दुध उत्पादनमा आत्मनिर्भर नगरपालिका बनाउने उद्देश्यले पशु सुत्केरी भत्ता कार्यक्रम लागू गरेको छ । पशु सुत्केरी भत्ता कार्यक्रम लागू गरी पशुपालक किसानलाई प्रोत्साहन दिने संभवतह लुम्बिनी प्रदेश कै पहिलो नगरपालिका हो । कोहलपुर नगरपालिका–१३ खड्कवारका अजय पशुपालन फर्मका सञ्चालक तिलमान डाँगीले पशु सुत्केरी भत्ता कार्यक्रम सञ्चालन गरेपछि सो कार्यक्रमबाट आफुहरु जस्ता किसानको लागि प्रोत्साहन भएको बताए । उनले भने–‘ दुध उत्पादन बृद्धि गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पशु सुत्केरी भत्ता उपलब्ध गराउदै आएको छ । यसले हामीलाई प्रोत्साहन थपेको छ ।’

यसैगरी अमृत पशुपालन फर्मका सञ्चालक कोमल ओलीले नगरपालिकाले पशु सुत्केरी भत्ता कार्यक्रम लागू गरेर आफुहरु जस्ता पशुपालक किसानलाई प्रोत्साहन थपिएको बताए । उनले यसबर्ष मात्रै ९ वटा पशु सुत्केरी भत्ता बुझेको जानकारी दिदै भकारो सुधार तथा अन्य अनुदानको कार्यक्रम सञ्चालन गर्न माग गरे । उनले केहीले अनुदानको दुरुपयोग गर्ने नियत भएकाहरुले सञ्चालन गरेका पशुफर्मको कारण आफुहरु जस्ता किसानलाई बाधा पुगेको गुनासो गरे ।

कोहलपुर नगरपालिकाका पशुपालक किसानहरु नगरपालिकाले पशु सुत्केरी भत्ता दिएर आफुहरुलाई व्यावसायिक पशुपालन तर्फ आकर्षित बनाएको बताउदै नगरपालिकाले आफ्नो उत्पादनको बजारिकरण, पशुको उन्नत जातको नश्लसुधार, भकारो सुधार, साथै घाँस काट्ने मेसिनजस्ता उपकरण र घाँसको बिउ उपलब्ध गराउन तर्फ योजना बनाउनु पर्ने खडकवारकै ज्ञानु पशुफर्मका सञ्चालिका ज्ञानुकुमारी बुढाको भनाई छ । उनले यसवर्ष दुईवटा पशुको सुत्केरी भत्ता बुझेको जानकारी दिईन ।

कोहलपुर–२ कालिका भैसी फर्मका सञ्चालक चन्द्रबहादुर जिसीले नगरपालिकाले सञ्चालन गरेको पशु सुत्केरी कार्यक्रमबाट ६ वटा पशु सुत्केरी भत्ता लिएको बताए । उनले किसानको उत्पादनको बजारीकरण संगै मागेको अनुसारको घाँसको बिउ, उन्नत जातको नश्ल सुधारको कार्यक्रम लागू गर्नुपर्ने माग गरे । कोहलपुर–१३ भरैयाकी हिमा राना पुन मगरले एक गाई र एक भैसीको सुत्केरी भत्ता बुझेको बताईन । उनले कागजी प्रकृया नबुझेको कारण केही झण्झटिलो भएको तर, आवश्यक कागज सबै उपलब्ध गराउने वित्तिकै सहजै पशु सुत्केरी भत्ता पाईएको बताईन ।

कोहलपुर नगरपालिका नगर पशु शाखा प्रमुख गोबिन्द रोकायले नगरपालिकाको लोकपृय कार्यक्रम मध्येको पशु सुत्केरी भत्ता कार्यक्रम रहेको जानकारी दिए । बिगत ३ आर्थिक वर्षदेखि नगरपालिकाले निरन्तर सञ्चालन गर्दै आएको यस कार्यक्रममा सेवाग्राही किसान निरन्तर थपिदै आएको बताए । चालु आर्थिक वर्षमा मात्र करिव ६ सय पशुपालक किसानले पशु सुत्केरी भत्ता बुझेको बताए । चालु आर्थिक वर्षमा मात्र २ सय १७ गाई ३ सय ५५ भैसी गरी ५ सय ७२ ले पशु सुत्केरी भत्ता लिएको शाखाले जनाएको छ ।

कोहलपुर नगरपालिकाले दुध उत्पादनमा बृद्धि होस भन्ने उदेश्यले गाई र भैसीमा मात्र पशु सुत्केरी भत्ता कार्यक्रम लागू गरेको छ । सुत्केरी भएको पशुले प्रतिबेत २ हजार पशु सुत्केरी भत्ता दिने गरेको छ । जसको १ प्रतिशत सामाजिक सुरक्षा कर काटेर किसाने १ हजार ९ सय ८० रुपैयाँ पाउने गरेको शाखा प्रमुख रोकाय बताउछन ।

कोहलपुर नगरपालिकाको पशु शाखामार्फत पशु सुत्केरी भत्ता, पशु अनुदान, पशु उपचार, भ्याक्सिनेशन, कृतिम गर्भाधान तथा नश्ल सुधार जस्ता कार्यक्रमसंगै किसानको माग अनुसारको घाँसको बिउ सहयोग गर्ने गरेको पशु शाखा प्रमुख रोकायको भनाई छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले पाइलट परियोजनाको रुपमा तीन वर्ष अघि कार्यान्वयनमा ल्याईएको पशु सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी भएको बताए । उनले बजारीकरणको लागि पनि नगरपालिकाले पहल गर्ने बताए । कोहलपुर नगरपालिकाले संघ र प्रदेश सरकारसंगको सहकार्यमा कृषि क्षेत्र र पशुपालक किसानको हितमा हुनेगरी बिभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएको छ । कोहलपुर नगर क्षेत्रका किसानको हितमा हुने गरी अझ थप कार्यक्रम सञ्चालन गरी कृषि र पशु पालनको क्षेत्रबाट ठूलो फाइदा लिन सकिने नगर प्रमुख रावतको भनाई छ । राजधानी दैनिकबाट

Nabintech