१६ चैत्र २०८०, शुक्रबार
संरक्षकविहीन बालबालिका सरकारले जिम्मा लिने

  • टाइम्स संवाददाता

  • ८ असार २०७८, मंगलवार ०८:१०

कोरोना महामारीका कारण आमाबुवा वा संरक्षक गुमाएर संरक्षकविहीन बनेका बालबालिकाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले सूचना जारी गरेर देशभर त्यस्तो अवस्थामा रहेका बालबालिकाको विवरण पठाउन आग्रह गरेको छ । महामारीका कारण संरक्षकविहीन बालबालिकाको विवरण सङ्कलनका लागि केन्द्रीय स्तरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाई र राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसाल सम्पर्क व्यक्ति तोकिनुभएको छ । हाल स्थानीय तहले कोरोनाका कारण आमाबुवाको मृत्यु भएको र उनीहरूको हेरचाहका लागि अन्य संरक्षकसमेत नभएका बालबालिकाको विवरण मन्त्रालय तथा परिषद्मा पठाउन सुरु गरेको छ । देशभरका स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका संरक्षकविहीन बालबालिकाको यकिन तथ्याङ्क सङ्कलनका लागि धमाधम सार्वजनिक सूचना पनि जारी गरिरहेका छन् । राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक एवं उक्त कार्यका लागि सम्पर्क व्यक्ति तोकिएका नमुना भुसालले हालसम्म चार/पाँच बालबालिकाको विवरण आएको र अन्य आउने क्रममा रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले अनाथ बालबालिका, सडक बालबालिकालगायत जोखिममा परेका सबै बालबालिकालाई सरकारले संरक्षण गर्दै आएकोमा महामारीले संरक्षकविहीन अवस्थामा पुगेका बालबालिकाको संरक्षणको काम पनि थालेको बताउनुभयो ।

Nabintech