१६ चैत्र २०८०, शुक्रबार
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्ने

  • टाइम्स संवाददाता

  • १३ असार २०७८, आईतवार १८:३३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बुधबार बोलाउने निर्णय गरेको छ । आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।  बैठकमा समसामयिक राजनीतिक विषय, कोभिड १९ नियन्त्रणको पहल, प्राकृतिक विपत्ति र राहत, पुनस्र्थापना तथा पूर्व तयारीका विषयमा समेत छलफल भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । १६ गते काठमाडौंमा बस्ने बैठकले पार्टीभित्रका असन्तुष्ट नेताहरुको विषयमा समेत ठोस छलफल गर्ने बताइएको छ । अहिले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग संवाद र छलफल जारी रहेकाले त्यसबारेमा समेत समीक्षात्मक छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेको गत फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले यसअघि आफ्नो फैसलामा एमाले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिएपछिको अवस्थाका बारेमा समेत आजको बैठकमा छलफल भएको बताइएको छ । एमाले महाधिवेशन आयोजक कमिटीको गत वैशाख १० गते बसेको बैठकले १९ सदस्यीय स्थायी कमिटीमा रहने सदस्यको कार्यविभाजन गरेको थियो । स्थायी कमिटीमा अहिले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित सो पक्षका नेताहरुलाई हटाइएको छ । केही नेताहरु पार्टीको निर्णयअनुसार निलम्बमा छन् । हाल स्थायी कमिटीमा रहेका १९ जना सदस्यहरुमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, नेताहरु बामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहनुभएको छ ।

Nabintech