१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा लकडाउन थप, ३८ जना थपिए, १५ डिस्चार्ज, ३ को निधन

  • टाइम्स संवाददाता

  • १४ असार २०७८, सोमबार १७:५१

बाँकेमा थप एक हप्ता निषेधाज्ञा (लकडाउन) थप गरीएको छ । गत बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएको लकडाउनको समय पुन एक हप्ता थप गरीएको हो । यस पटकको लकडाउन केही खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाभित्र संचालित सार्वजनिक यातायातका सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गरिने भएको छ । यसका अलावा बजार व्यवसाय विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने पुरानो निर्णयलाई निरन्तरता दिईएको छ भने भिडभाड हुने क्षेत्र जस्तै विद्यालय, कलेज, सिनेमा हल, पार्क, सेमिनार, गोष्ठि, भेला, र्याली र प्रदर्शन लगायतका क्षेत्रमा भने प्रतिबन्ध लगाईएको छ । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख ९ गतेदेखि नेपालगन्जमा र वैशाख १३ गतेदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरिएको थियो ।

३८ जना थपिए, १५ डिस्चार्ज
त्यस्तै बाँकेमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १४९ नमुना परीक्षण गर्दा ३१, मेडिकल कलेजमा २८ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिढ १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ९ जना छन् । ८३ हजार ९ सय २४ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ३५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म १७ हजार ८४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिलो २४ घण्टामा थप तीनजनाको मृत्यु भएको छ । ती सबै बाहिरी जिल्लाका हुन् ।
बाँकेमा थप तीन संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप तीनजनाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–३ प्युठानका पुरुष, घोराही उपमहानगरपालिका–११ दाङका पुरुष र आठबिस नगरपालिका–४ दैलेखका पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । असार १२ गते भाइरस संक्रमण पुष्टि भएका झिमरुक गाउँपालिका–३ प्युठानका ३८ वर्षिय पुरुषको गएराती मृत्यु भएको हो । उनी १३ गते अस्पताल भर्ना भएका थिए । उनको राती १ बजे मृत्यु भएको हो । त्यस्तै असार २ गते भाइरस संक्रमण पुष्टि भएका घोराही उपमहानगरपालिका–११ दाङका ६८ वर्षिय पुरुषको गएराती मृत्यु भएको हो । उनी असार ४ गते अस्पताल भर्ना भएका थिए । उनको राती २ः३५ बजे मृत्यु भएको हो । त्यस्तै असार ९ गते भाइरस संक्रमण पुष्टि भएका आठबिस नगरपालिका–४ दैलेखका ७३ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी असार १० गते भेरी अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ३ः१५ बजे मृत्यु भएको हो । योसँगै बाँके जिल्लामा हालसम्म ३१० जना कोरोना संक्रमितको निधन भएको छ भने उपचारका लागि बाँकेमा आएर मृत्यु हुने संक्रमितको संख्या ३ सय ६१ पुगेको छ ।

Nabintech