१४ बैशाख २०८१, शुक्रबार
बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, ७१ घाइते, २९ बेपत्ता

  • टाइम्स संवाददाता

  • २४ असार २०७८, बिहीबार १९:०४

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ जना पुरुष, १५ जना महिला, पाँच जना बालक र पाँच जना बालिका रहेका नेपाल प्रहरीले जनाएको छ। तीमध्ये सिन्धुपाल्चोकमा पाँच जना, डोटीमा पाँच जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन–तीन जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा तीन–तीन जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रेपलाञ्चोक, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक–एक जना रहेका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले   जानकारी दिए ।

बाढी, पहिरो र डुबानमा परी यसै अवधिमा ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र पाँच जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा सात जना, धादिङमा छ जना, सिन्धुपाल्चोक र रोल्पामा पाँच–पाँच जना, धनुषा र सर्लाहीमा पाँच–पाँच जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा पाँच–पाँच जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा पाँच–पाँच जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा पाँच–पाँच जना रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाउको छ । बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, छ जना महिला, तीन जना बालक र एक जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा तीन जना, पर्वत र तनहुँमा दुई जना तथा बाजुरा र बाग्लुङमा एक–एक जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको छ । बाढीपहिरोमा परेका एक हजार दुई सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा छ सय ५६ जना, चितवनमा चार सय दुइ जना, सिन्धुपाल्चोकमा एक सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) का १८ जना, लमजुङ र सल्यानबाट आठ–आठ जना, जाजरकोटमा सात जना, गोरखा र दाङमा चार–चार जना र कञ्चनपुरमा तीन जना रहेका छन् । उद्धारपछि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा पुर्याएको थियो ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको छ । बाढीको कारण एक हजार पाँच सय १६ वटा घर डुबानमा परेका छन् । पाँच सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, तीन वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने आठ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा पाँच सय ३९ वटा विपद्‍का घटनाबाट एक हजार एक सय ५८ वटा घर परिवारका पाँच हजार चार सय २३ जना मानिस विस्थापित भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको प्रहरी प्रवक्ता कुँवरले बताए । यस्तै पछिल्लो २४ घण्टामा मात्र दार्चुलामा तीन जना, पाल्पामा दुइ जना तथा तनहुँ र दाङमा एक–एक जना गरी जम्मा सात जनाको मृत्यु भइसकेको जनाइएको छ ।

Nabintech