२९ असार २०८२, आईतवार
भारतीय फुटबल टोली काठमाडौं आइपुग्यो

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७८, मंगलवार ०७:२५

नेपालविरुद्ध यसै साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको भारतीय फुटबल संघले बिहीबार घोषणा गरेको थियो । तीन साता पोखरामा अभ्यास गरि नेपाली टोली पनि राजधानी फर्किसकेको छ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो । भारतले अनुभवी डिफेन्डर सन्देश झिंगनलाई भने टोलीमा समेटेको छैन । उनी क्रोएसियाको एचएनके सिबेनिकमा गत महिना मात्र अनुबन्धन भएका थिए । नेपाल र भारत दुवै टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन् । मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार जाने तयारीमा छ । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ । जहाँ भारतले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

२५ सदस्यीय भारतीय टोली

गोलकिपर – अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु

रक्षक – प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्ड– लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड – मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

Nabintech