१३ बैशाख २०८१, बिहीबार
गएरातिको वर्षाले मुख्य सडकका ठाउँ-ठाउँमा पहिरो

मुग्लिन-नौबिसे र मुग्लिन-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै


  • टाइम्स संवाददाता

  • ५ असार २०७९, आईतवार ०८:४४

काठमाण्डाै:  गएरातिको वर्षाले मुख्य सडकका ठाउँ-ठाउँमा पहिरो गएको छ।पहिरोका कारण हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड र खोटाङ, उदयपुर जोड्ने सडक ठप्प भएको छ । यी सडक खण्डमा अहिले गाडी चल्न सकेको छैन ।

साना ठूला दुवै गाडीको आवतजावत ठप्प छ । हेटौँडा–कुलेखानी–फाखेल सडक खण्ड हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको सडक हो ।यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोरमा पनि पहिरो जाँदा खोटाङ र उदयपुर जाने आउने गाडी ठप्प भएका छन् ।

नारायणगढ-मुग्लिन सडक खण्डमा भने बिहानैदेखि चापमा गाडी चलिरहेको छन् । पहिरो हटाए पछि बिहानदेखि यो सडक खण्ड खुलेको छ । तर, दुईतर्फी नै सडक खुलाए पनि गाडीको सङ्ख्या धेरै रहेकाले चाप रहेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने काली खोलामा ठूलो पहिरो खसेको थियो  ।

पहिरोले गुडिरहेको दुई वटा मोटरसाइल र एउटा स्कुटर आंशिक रुपमा पुर्दा तीन जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी अस्पताल पठाएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । पानी पर्ने बित्तिकै पहिरो जाने भएकाले मुग्लिन-नौबिसे र मुग्लिन-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

Nabintech