१४ बैशाख २०८१, शुक्रबार
पोखरामा १५ सय बढी सेन्सरसहितका सडक बत्ती जडान हुँदै

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार ११:५४

पर्वत : कास्कीको पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु भएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा १५ सय भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू  जडान गर्ने गरी उज्यालो पोखरा अभियानको शुभारम्भ गरिएको हो। नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यो अभियानको शुभारम्भ सहित महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार एक कार्यक्रमका बिच बत्ती जडान कार्यको शिलान्यास समेत गरेका छन्।

उज्यालो पोखरा अभियान अन्तरगत नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना मार्फत टपसन इनर्जी प्रा.लि.ले प्राधिकरण र पोखरा महानगरपालिकाको लागत साझेदारीमा पोखराको ५० किलोमिटर सडकमा एक हजार पाँच सय चार वटा सडक बत्ती जडान गर्ने छ।

जसमध्ये पोखरा महानगरपालिकाका २३ महत्त्वपूर्ण स्थानमा १६ मिटर अग्ला पोलहरूमा ‘हाई मास्ट लाइट’ हरू जडान गरिने छन्। ती लाइटहरूको क्षमता २०० वाटसम्म हुनेछ।

अभियानको शुभारम्भ गर्दै प्रमुख आचार्यले सडक बत्तीको जडानले पोखरालाई थप सुरक्षित र सुन्दर बनाउने विश्वास व्यक्त गरे। यसअघि करोडौँ रुपैयाँ खर्च गरेर जडान गरिएका सडक बत्तीहरू नियमित मर्मतको अभावमा जीर्ण बन्दै गएको उनले बताए।

पहिले जडान गरेर पनि जीर्ण भएका बत्तीहरूको समेत मर्मत गरी पोखराका अधिकांश स्थानहरूमा थप बत्तीहरूको जडान गरेर पोखरा सहरलाई उज्यालो सहर बनाउने प्रमुख आचार्यको भनाई छ।

आगामी तिहारसम्म पोखरा महानगरपालिकामा २३ वटा ‘हाइ मास्ट लाइट’सहित १५ सय भन्दा बत्तीहरू जडान भएपछि उज्यालो पोखरा सबैका लागि लोभ लाग्दो हुनुका साथै रातीको समयमा हुन सक्ने चोरी, लुटपाट, झगडा, लगायतका समस्या समाधानको लागि पनि ती बत्तीहरू सहयोगी बन्ने नगरप्रमुख आचार्यको भनाई छ।

Nabintech