१४ बैशाख २०८१, शुक्रबार
खाद्य सामग्री अभावमा दशैंमा पनि सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १५:४३

बैतडी :  सरकारले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै  हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा भने दशैंमा पनि सञ्चालन हुन सकेका छैनन्।  असोज १ गतेदेखि  सुपथ मूल्य सञ्चालन गर्ने भनेपनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा अझै सञ्चालन आउन नसकेका हुन्। सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिमको धनगढी र अत्तरिया बाहेक अन्य कुनै पनि स्थानमा  सञ्चालनमा नआएका  साल्ट्र टेडिंग कर्पोरेसन प्रदेश कार्यालय धनगढीका सहायक  प्रबन्धक तेजबहादुर कुँवरले जानकारी दिए।  उनले भने,’सुपथ मूल्य पसल सञ्चालनका लागि सामग्रीको अभावका कारण सञ्चालन हुन सकेका हुन्।’

चिनी, चामल,नुन, तेल,चिउरा लगायतका सामग्री सहुलियत मूल्य पसलमा विक्री हुने गरेको छ। तर यि सामग्रीको अभावमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेको कुँवरको भनाइ छ। उनले भने,’चिनीको अभाव त देशभरी नै छ भन्ने सुनिन्छ, हाम्रो यता पनि छैन्, अन्य सबै सामग्री पनि खासै छैनन्।’

सामग्री पनि सबै नभएको र अनलाइन बिलिङ्गले गर्दा पनि यो समस्या आएको कुँवरले बताए। उनले भने,’सबै सामग्री छैनन्, सहुलियत पसलमा सामग्री बेच्दा सफ्टवयरमार्फत अनलाईन बिलिङ्ग काट्नुपर्छ, जनशक्तिको पनि अभाव छ। ‘

विगतका वर्षमा दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुदै आएको थियो।  कर्पोरेसनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया,टीकापुर, कञ्चनपुरको महेन्द्रनगर,बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो।

चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भएपनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ।सुपथ मुल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा खाद्य सामग्री किन्न पाइने भएपनि सञ्चालन नै नहुँदा समस्या भएको स्थानीय भागरथी भट्टले बताइन्। उनले भनिन्, ‘चाडपर्वको बेला अनिवार्य रुपमा सञ्चालन हुनुपर्ने सुपथ मूल्य पसल सञ्चालन नहुँदा सर्वसाधारणलाई निकै समस्या भएको छ। महंगो मूल्यमा खाद्य सामग्री किन्नुपर्ने बाध्यता छ।’

Nabintech