५ जेष्ठ २०८१, शनिबार
दसैँमा दुर्घटना : ३९ जनाले गुमाए ज्यान

यान्त्रिक परीक्षण गर्ने सरकारको निर्णय कार्यान्वयन नहुँदा दसैँमा विगतमा झैँ ठूला दुर्घटना, बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते


  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७९, आईतवार ०६:४१

चितवनको नारायणगढस्थित बसपार्कबाट गत २० असोजको बिहान ०६–००१ ख ०१० नम्बरको बस खचाखच यात्रु बोकेर बाराको पथलैयातर्फ छुट्यो । बाराको अमलेखगन्ज पुग्दा बसको ‘ब्रेक फेल’ भयो । १८ यात्रुले अनाहकमा ज्यान गुमाए, २९ जना घाइते भए जसमध्ये २६ जना गम्भीर छन् ।

विजया दशमीको भोलिपल्टै बिहानै भएको यो ठूलो दुर्घटनाले देशलाई नै स्तब्ध बनायो । यस दुर्घटनाको प्रमुख कारण सवारीसाधनको यान्त्रिक परीक्षण नहुनु भएको प्रहरीको भनाइ छ । यान्त्रिक परीक्षण नहुँदा ‘ब्रेक फेल’ भई दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटी बसको ‘यान्त्रिक परीक्षण’ हुन सकेको भए भयानक दुर्घटना टर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘प्रारम्भिक अनुसन्धान गर्दा बसको ‘ब्रेक फेल’ भएजस्तो देखिन्छ । त्यही वेला पानी पर्‍यो । सडक चिप्लो थियो । बस करिब सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुदेको हुँदा चलकले ‘टर्निङ’ लिन सकेन । बस उडेर बगरमा जोतियो । त्यहाँबाट पनि अर्को बल्ड्याङ खाएर विद्युत्को पोलमा गएर ठोक्कियो । बसबाट हाम फालेका सबै घाइते भए । भित्रै बस्ने बाँच्न सकेनन् । स्टेसनमै बसको ‘यान्त्रिक परीक्षण’ हुन सकेको भए दुर्घटना हुँदैन थियो कि  !’

गत १७ असोजको मध्यरातमा हेटौँडास्थित चुरियामाई सडकमा ना. ७ ख २०३२ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा दुईजनाको मृत्यु भयो, ३६ यात्रु घाइते भए । काठमाडौंस्थित नयाँ बसपार्कबाट छुटेको बस दमक जाँदै थियो । तर, छुट्नुअघि बसको ‘यान्त्रिक परीक्षण’ भएन । यो बसमा खचाखच यात्रु थिए । हेटौँडास्थित चुरियामाई पुगेपछि बसले नियन्त्रण गुमायो । बस गएर सडक किनारमा गएर जोतियो । धन्न बसको गति मध्यम थियो र क्षति भयानक हुन पाएन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमका अनुसार उक्त बसको पनि ‘ब्रेक फेल’ भएको थियो ।

शनिबार लमजुङको बेँसीसहर नगरपालिका– १ रिट्ठेबगरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । डुम्रे–बेँसीसहर सडकमा ग. १च ५९३४ नम्बरको बोलेरो जिप ब्याक गर्दा भएको दुर्घटनामा ६१ वर्षीय मोतीबहादुर मजाकोटीको मृत्यु भएको हो ।

शनिबार नै विदुर नगरपालिका– ५ मा बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी– १२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी– ७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर– ५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रूपक खड्काले जानकारी दिए ।

गृह मन्त्रालयले गत ९ असोजदेखि मझौला र लामो दूरीमा चल्ने प्रत्येक सार्वजनिक सवारीसाधनको अनिवार्य रूपमा ‘यान्त्रिक परीक्षण’ गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । यसका निम्ति यातायात व्यवस्था विभाग र मातहतका प्रहरीलाई जिम्मेवार रहन गृहले भनेको थियो । तर, निर्देशन कार्यान्वयनमा आउन सकेन । फलतः यस वर्षको दसैँ पनि धेरैका लागि शोक बन्न पुग्यो । फूलपातीदेखि शनिबारसम्म मुलुकभर ठूला–साना गरी ३५ दुर्घटना भए । जसमा ३९ जनाको अनाहकमा ज्यान गयो । एक सय ३४ यात्रु घाइते भएका छन् ।

गृहका प्रवक्ता फणीन्द्रमणि पोखरेलले काठमाडौं उपत्यकाबाट छुट्ने बसको हकमा ‘यान्त्रिक परीक्षण’ सुरु गरिए पनि सबै ठाउँमा कार्यान्वयन हुन नसकेको स्विकारे । उनले भने, ‘पर्वका वेला ठूला–ठूला दुर्घटना हुने गर्छन् । त्यसलाई नियन्त्रण गर्न यसपटकबाट सरकारले बसको ‘यान्त्रिक परीक्षण’लाई अनिवार्य बनाएको थियो । काठमाडौंबाट छुट्ने बसको हकमा त परीक्षण कार्यान्वयनमा आए । तर, अन्य ठाउँमा त्यस्तो हुन सकेन । साधन–स्रोत कमी हुँदा पनि सायद यो सफल हुन सकेनन् । तर, आगामी दिनमा यो अभियानलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।’

कानुनतः बसको ‘यान्त्रिक परीक्षण’ गर्ने जिम्मा यातायात व्यवस्था विभागको हो । गृहले पनि ‘यान्त्रिक परीक्षण’मा जिम्मेवार हुन विभागलाई जोड गरेको थियो । तर, विभाग गृहको निर्देशन कार्यान्वयनमा असफल देखिएको छ ।

विभागका महानिर्देशक डा। टोकराज पाण्डे ‘यान्त्रिक परीक्षण’ पहिलोपटक कार्यान्वयनमा आएको हुँदा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने, ‘हामीले पाँच ठाउँमा अहिले बसको यान्त्रिक परीक्षण गर्दै आएका छौँ । यसलाई सातै प्रदेशमा पुर्‍याउने योजना छ । यसपटकबाट बसको ‘यान्त्रिक परीक्षण’ गर्ने नियम आयो । हामीले तत्काल कार्यान्वयनमा ल्यायौँ । पहिलोपटक हुँदा सोचेजति प्रभावकारी हुन पाएन होला । तर, केही हदसम्म सफल भएका छौँ । किनकि यस वर्ष विगतको तुलनामा मृत्यु कम छ ।’

यस वर्ष चाडपर्वमा हुने दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा शक्तिशाली कार्यदल नै बनाइएको थियो । तैपनि ठूला दुर्घटना रोकिएन । यद्यपि, गत वर्षको तुलनामा दुर्घटना कम भएको प्रहरी तथ्यांक छ ।

गत वर्ष दसैँको दश दिनमा मुलुकभर पाँच सय ९३ सवारी दुर्घटनामा एक सय ४३ यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते हुनेको संख्या नौ सय २२ पुगेको थियो । गत वर्षको २६ असोजमा मुगुको छायाँनाथ–रारा– ७ तपने खोलामा भयानक दुर्घटना भएको थियो । नेपालगन्जबाट छुटेको भे. १ ख ३१६७ नम्बरका बस तपने खोलामा दुर्घटना भएको थियो । जसमा २४ यात्रुको घटनास्थलमै मृत्यु हुन पुगेको थियो ।

गत वर्ष २५ असोजमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा ग. १ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ६ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । सोही वर्षको २४ असोजमा अछामको पञ्चदेवल–विनायक– १ कुइकामा से।१च १७६३ नम्बरको बोलेरो जिप दुर्घटना भयो । जन्ती बोकेर फर्किंदै थियो जिप । अचानक नियन्त्रण गुमाउँदा जिप दुर्घटना भयो । जिपमा सवार चारजनाको घटनास्थलमै ज्यान गयो । अन्य १४ जना घाइते भए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले सवारीसाधनको ‘यान्त्रिक परीक्षण’ नहुनु, बसमा खचाखच यात्रु राख्नु, चालक दबाबमा रहनु, सडकको स्तर गयगुज्रेको हुनु दुर्घटनाका मुख्य कारण रहेको बताए ।

उनले भने, ‘पर्वका वेला दुर्घटना हुन्छन् । यो दर अन्य समयमा पनि कम छैन । यसका विविध कारण होलान् । खासगरी सवारीसाधनको ‘यान्त्रिक परीक्षण’ नहुनु, बसमा खचाखच यात्रु राख्नु, चालक दबाबमा रहनु, सडकको स्तर गयगुज्रेको हुनु दुर्घटनाका मुख्य कारण देखिन्छ । यसका लागि प्रहरी मात्रै जिम्मेवार भएर हुँदैन । दुर्घटनासँग जोडिने अन्य ‘स्टेक होल्डर’ पनि जिम्मेवार हुनुपर्‍यो । कानुनले तोकेअनुुसार मात्रै सम्बन्धित सबै निकायले काम गरे दुर्घटना घटाउन सकिन्छ ।’

बाढीपहिरोमा १४ को मृत्यृ

अविरल वर्षाका कारण आएको बाढीपहिरो र चट्याङमा परी पछिल्लो पाँच दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् । ११ जना बेपत्ता रहेको १५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार जुम्लामा पहिरोमा परेर सातजनाले ज्यान गुमाएका छन् । कनकासुन्दरी गाउँपालिका– ५ बारकोटेवाडामा पहिरोका कारण स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, छोरा रमेश, बुहारी पानसरा शाही, रमेशका आठ वर्षीय छोरा अनमल र छोरी मिलन तथा छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको हो ।

घटनामा स्थानीय सरस्वती हमाल गम्भीर घाइते भएकी छिन् भने रामबहादुर हमाल सामान्य घाइते भएका छन् । घटनास्थल जुम्ला सदरमुकाम खलंगादेखि झन्डै ८० किलोमिटर टाढा छ ।

कर्णाली राजमार्गअन्तर्गत रारा–लिही र नाग्म–गमगढी सडकखण्डमा ठाउँ–ठाउँमा पहिरो गएका कारण सदरमुकाम खलंगाबाट थप उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन ।

यस्तै, जिल्ला प्रहरी कार्यालयका अनुसार भारी वर्षापछिको बाढीमा परी हिमा गाउँपालिकामा आमा–छोरा बगेर बेपत्ता भएका छन् । हिमा– ३ जोगीवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उनका तीन वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका हुन् ।

गत बिहीबार काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ देउरालीमा आएको पहिरोमा परी एकै परिवारका तीनजनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा काभ्रेका राजु श्रेष्ठ, उनकी श्रीमती रेखा र छोरा सारथि रहेका छन् ।  उनीहरूले देउरालीमा रेकी ध्यान केन्द्र चलाउँदै आएका थिए । सोही ध्यान केन्द्रमा उनीहरू बस्दै आएका थिए । अविरल वर्षाका कारण मध्यरातमा पहिरो आएपछि उनीहरू पुरिएका थिए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बढीपहिरोका कारण गत सात दिनभित्र मुलुकभर तीन करोड ४२ लाख ८६ हजार रुपैयाँ मूल्यबराबरको धनमाल नष्ट भएका छन् ।

Nabintech