५ जेष्ठ २०८१, शनिबार
सशस्त्र असई हत्या प्रकरण: सहकर्मी नै संलग्न भएको आशंका, एक जवान पक्राउ

  • टाइम्स संवाददाता

  • २७ आश्विन २०७९, बिहीबार १०:३५

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका गोविन्दपुरस्थित सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या पेचिलो बन्दै गएको छ । असई यादवको हत्यामा सहकर्मीकै संलग्नताको आशंकामा प्रहरीको छ । सशस्त्र प्रहरी बलले बुधबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकालाई मुख्यालय तानेको छ भने एक प्रहरी जवानलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) । यहाँ कार्यरत असई सत्यनारायण यादवको हत्या भएको हो ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट(बीओपी)  छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा गत असोज २० गते बिहान मृत फेला परेका हुन् । उनी मृत फेला परेको स्थान नेपाल भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको छ । उनको शव फेला पर्दा उनी नांगो अवस्थामा थिए । घटनाको अनुसन्धानका लागि प्रदेशबाट पनि नेपाल प्रहरीको अनुसन्धान टोली सप्तरी आएको छ ।

प्रहरी स्रोतकाअनुसार उनको हत्यामा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणहरु फेला परेका छन् । जवान खत्री अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीले यस प्रकरणबारे आधिकारिक रुपमा केही जानकारी दिएको छैन । आरोपी सशस्त्र प्रहरी जवान खत्रीको दरबन्दी अन्यत्रै रहेपनि माथिल्लो तहको अधिकारीको निर्देशनमा छिन्नमस्ता नाका कार्यरत थिए । सशस्त्र प्रहरी स्रोतकाअनुसार जवान खत्री सहायक हवलदारबाट घटुवा भएर जवान भएका व्यक्ती हुन् ।

अनुसन्धान स्रोतकाअनुसार छिन्नमस्ताको मोहनपुर नाकाबाट ३ ‘स’ अर्थात सुन, सुपाडी र स्याउ तथा ३ ‘म’ मटर, मरिच र मदिराको तस्करी अत्यधिक परिमाणमा हुने गर्छ । साथै, सो नाका आसपास वेश्यवृत्ति पनि अत्याधिक हुन्छ । मृतक असई यादव तस्करीसहितका सीमामा हुने अन्य व्यापारिक गतिविधिको विपक्षमा थिए ।

अनुसन्धान स्रोतका अनुसार असई यादव १९ गते युनिफर्म लगाएर डयुटीमा मोहनपुरतर्फ गएका थिए । सोही दिन प्रहरी जवान खत्रीले सपना नामकी एक युवतीलाई समेत बोलाएका थिए । युवतीलाई मण्डल थरका एकजना मदिरा तस्करको मोटरसाइकलमा राखी मोहनपुरमै खानपिन गर्ने भन्दै लगेका थिए ।

जिल्लाका अन्य बोर्डर आउटपोस्ट (बीओपी) मा सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) कार्यरत रहेकोमा २ महिनाअघि सशस्त्र प्रहरीको मधेस प्रदेशका डीआईजी गणेश टाडामगरको निर्देशनमा बरमझियास्थित शिक्षालयबाट सशस्त्र प्रहरी नायव निरिक्षक (सई)  मगरलार्ई छिन्नमस्ता बीओपीमा खटाइएको थियो । एक स्थानीयका अनुसार नयाँ बीओपी प्रमुख आएपछि तस्करीको लाइन सहज भएको थियो ।

१९ गते राति युवती लिएर सशस्त्र प्रहरी जवान खत्री मोहनपुर पुगेपछि असई यादवले उनलाई झपारेका थिए भने एक लठ्ठी समेत हिर्काएका थिए । त्यसपछि खत्रीले केही व्यक्तीको सहयोगमा असई यादवको नेपालमै हत्या गरेको अनुसन्धान स्रोतले बतायो । प्रहरीको नियन्त्रणमा रहेका खत्रीले सहयोग गर्नेहरुको नाम भने बताएका छैनन् ।

असई यादवको हत्यापछि त्यसलाई अर्को रुप दिन उनको शरिरमा लगाइएको युनिफर्म खोलेर नांगो बनाएर खोला किनारमा फालिएको थियो । मृतकको टाउको र हातमासमेत चोट छ । उच्च प्रहरी अधिकारीका अनुसार यादवको हत्यापछि जवान खत्रीले सबैभन्दा पहिला बीओपी प्रमुख सई मगरलाई राति नै खबर गरेका थिए । तर, सई मगरले आफ्नो माथिल्लो निकाय सशस्त्र प्रहरी गण नम्बर ६ राजविराज र एसपी प्रदीप खडकालाई भने तत्काल जानकारी गराएनन् । घटनास्थल पुगेपछि मात्र उनले एसपी खडकालाई जानकारी दिएका थिए ।

भारतीय सुरक्षाकर्मीले आफ्नो क्षेत्रमा शव फेला पारेपछि स्थानीयले उक्त शव नेपालको सशस्त्र प्रहरीको भएको बताएका थिए । त्यसपछि भारतीय सुरक्षाकर्मीले प्रक्रिया पुरा गरी सशस्त्र प्रहरीलाई शव बुझाउन खोज्दा सशस्त्र प्रहरीले सुरुमा आफ्नो मान्छे नभएको भन्दै शव बुझ्न मानेको थिएन । तर स्थानीयको दबाबपछि सशस्त्रले भेटिएको शव आफ्नै असई सत्यनारायण यादवको भएको स्वीकारेको थियो ।

शव नेपाल प्रहरीले गजेन्द्रनारायण सिंह अस्पताल राजविराज हुँदै पोस्टमार्टमका लागि धरान पठाएको थियो । घटना सार्वजनिक भएपछि असई यादव १८ गतेबाट तीन दिन बिदा गएको विषय रचिएको स्रोतले बतायो । घटनाबारे सशस्त्र प्रहरीको बाहिनीबाट समेत अनुसन्धान गर्न टोली आएपनि खासै अनुसन्धान गरेनन् । तर नेपाल प्रहरीको प्रदेशको अनुसन्धान टोली र जिल्ला प्रहरी भने निरन्तर अनुसन्धानमा जुटिरहेको छ ।

असई यादवको हत्या भएको भोलिपल्टै छिन्नमस्ता बीओपीका इन्चार्ज रहेका सई कृष्णबहादुर मगरले आफूलाई पिसाबबाट रगत आइरहेको भन्दै उपचारमा पठाइदिन एसपी खड्कालाई भनेका थिए । एसपी खड्कालाई माथिल्लो स्तरबाट समेत उनलाई उपचारमा पठाइदिन निर्देशन आएको स्रोतले बतायो । सई मगरलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ रहँदा नेपाल प्रहरीले अनुसन्धानका क्रममा सोधपुछ गर्ने भन्दै उनी आफैं रिफर लिएर उपचारका लागि विराटनगर पुगेका थिए ।

त्यहाँ पनि सोधपुछ हुन सक्ने अवस्था आएपछि अहिले उनी सशस्त्र प्रहरी अस्पताल पुरयाइएका छन् । राजविराजस्थित छिन्नमस्ता अस्पताल र विराटनगरका अस्पतालहरु सुविधा समपन्न हुँदाहुँदै सई मगरलाई सशस्त्र प्रहरीको अस्पताल पुर्‍याउनुलाई पनि शंकास्पद रुपमा हेरिएको छ । सई मगरलाई डीआईजी गणेश टाडा मगरको संरक्षण रहेको स्रोतले बतायो ।

सशस्त्रका डीआईजी मगरले भने आफ्नो निर्देशनमा भन्दा संगठनको नीति अनुरुप नै सई मगर त्यहाँ पुगेको प्रष्टयोक्ती दिए । उनले घटनामा संलग्न भएको आशंकामा प्रहरी जवान खत्रीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको सई मगर उपचारका लागि सशस्त्र प्रहरी अस्पतालमा रहेको र घटनाबारे सोधपुछ गर्न एसपी खड्का मुख्यालय बोलाइएको पुष्टी गरे । सशस्त्र प्रहरी प्रवक्ता पुरुषोत्तम थापाले पनि घटनाबारे सोधपुछ गर्न एसपी खड्कालाई मुख्यालय बोलाइएको बताए ।

हत्या घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले अनुसन्धान जारी नै रहेकाले तत्काल आधिकारिक रुपमा केही भन्न नमिल्ने बताएको छ । सप्तरीका एसपी अभिनारायण काफलेले भने, ‘अनुसन्धान चलिइरहेको छ, हामी वास्तविकताको नजिक पुगेका छौं । छिट्टै केही सार्वजनिक गर्छौं ।’

Nabintech