५ जेष्ठ २०८१, शनिबार
कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण


  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार ०७:५६

जुम्ला:  बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरेको  छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो ।

सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहत पुर्‍याएको हो ।

यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्बल ४० वटा र डिटोल साबुन एक कार्टुन वितरण गरिएको छ ।

सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लास्टिक पाल २५ वटा पुर्‍याएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र  डिटोल साबुन १ कार्टुन एक प्याकेट रहेको छ ।

त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्बल एक सय वटा टेण्टपाल एक सय वटा, डिटोल साबुन एक कार्टुन पुर्‍याइएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार शुक्रवार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहत पुर्‍याएको छ । उहाँले भन्नुभयो, “कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यान्न ल्याइएको छ ।”

त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरू मध्य ४, ५, ६ र ७ को लागि २५ गते कालिकाखेत्तुमा र असोज २८ गते शुक्रवार १, २ र ३ वडाहरूको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहतका सामग्री उपलब्ध भएको बताउनुभयो ।

गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी दिनुभयो  ।

त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षति कति भयो भन्ने तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो  ।

Nabintech