३१ भाद्र २०८१, सोमबार
प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेश भिड्दै

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७९, बिहीबार ०८:५१

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज विभागिय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान खेल ९ बजे सुरु हुने छ। एपीएफ समूह एकको विजेता हो भने मधेश प्रदेश समूह बीको उपविजेता हो।

एपीएफ हालसम्म अपराजित टोली रहेको छ। उसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने गण्डकी प्रदेशसँग बराबरीमा रोकिएको थियो।  समूह चरणमा पुलिससँग पराजित भएको मधेशले प्रदेश १ र लुम्बिनीलाई हराएको थियो। उसले बागमतीसँग बराबरी खेल्दै अंक बाँडेर समूहको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।  आजको विजेताले भोलि हुने आर्मी र पुलिसबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको थियो। कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल कात्तिक २६ मा हुनेछ।  प्रतियोगिताको विजेता टोली दश लाख प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख हात पार्नेछ। प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमहरु र उत्कृष्ट खेलाडीलाई समान ५० हजार प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्दा उदयीमान खेलाडीले १० हजार र ‘प्लेअर अफ दी म्याच’ले पाँच हजार पाउने छन्।

 

Nabintech