५ जेष्ठ २०८१, शनिबार
जुम्लामा २० प्रतिशत किसानको मात्रै स्याउ बिमा

जुम्ली किसानको मुख्य आम्दानीको स्रोत मानिने स्याउको बिमा नगर्दा किसानले घाटा खादै


  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०७९, बुधबार ०८:१९

जुम्ला: जुम्लामा २० प्रतिशत किसानले मात्रै स्याउ बिमा गरेका छन्।  झन्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर देखिएको जुम्ला २० प्रतिशत अर्थात २ हजार ४ सय ६१ जना किसान मात्रै हालसम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पनी जुम्लाको तथ्याङ्क छ ।

सरकारी तथ्याङ्क हेर्ने हो भने कुल १९ हजार बढी घरधुरी रहेको जुम्लाको जनसङ्ख्या करिब १ लाख २० हजार रहेको छ । जसमध्ये कुल घरधुरीको ९१.८९ प्रतिशत नागरिक कृषि पेसामा आश्रित रहेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ । १९ हजार घरधुरीमध्ये जुम्लाका १२ हजार घरधुरी व्यवसायीक स्याउ खेती गरिरहेका छन् । तर बिमित भने २४ सय ६१ जना किसान मात्रै छन् ।
३३ सय ५० हेक्टर जमिनमा १२ हजार घरधुरीका किसानले १४ हजार ५ सय बगैँचामा स्याउ खेती गरिरहेका छन्। विगतका वर्षमा असिना पानी, कालो तुसारो जस्ता प्रकोपले स्याउ किसानले करोडौँको क्षति व्यहोर्दै आएका छन् । एकातिर पुँजी अभाव र अर्को तिर चेतना शिक्षाको कमीले जुम्लाका किसान अझै अपेक्षित रूपमा कृषि बिमाको पहुँचमा पुग्न सकेका छैनन् । दुर्गमका किसान बिमामा लगानी गरेर लाभ लिन न ज्ञानले सक्षम छन्, न उनीहरूसँग पर्याप्त पुँजी छ । जसका कारण वर्ष भरी श्रम गरेर प्राकृतिक प्रकोपका कारण पटक पटक घाटा खेप्न बाध्य छन् ।

कृषि, पशु, स्वास्थ्य, जीवन तथा निर्जीवन लगायतका बिमाहरू स्थानीय नागरिकलाई अति आवश्यक छ । भिर पाखो नभनी स्वास्थ्यको ख्याल नगरी कृषि कर्ममा लाग्ने, कडा मेहनत गरी तरकारी फलाउने व्यक्तिलाई बिमाको आवश्यक छ। कृषिमा आत्मनिर्भर मुलुकमा किसान र किसानको उत्पादन नै सुरक्षित गर्ने नीति र किसान सँग पर्याप्त पुँजी नहुनु दुखद पक्ष भएकोले जुम्लाका स्याउ किसानको सरकारी तबरबाटै अनिवार्य बिमाक नीति निर्माण हुन जरुरी छ ।

जुम्लामा शिखर इन्सोरेन्स कम्पनीले वर्षौँदेखि कृषि विकास कार्यालय सँग समन्वय गरी स्याउ, मार्सी धान, पशु लगायतको बिमा गर्दै आएको छ । तर करिब आधा दशक बढी समय बितिसक्दा पनि जुम्लाका किसान अपेक्षित रूपमा बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।बिमा कम्पनीको रेकर्ड अनुसार जुम्लाका २ हजार ४ सय ६१ किसान मात्रै अहिले सम्म बिमाको पहुँचमा पुगेका छन् । खेतीमा निर्भर रहेका जुम्लाका १२ हजार घरधुरी किसान मध्य २० प्रतिशत अर्थात २४ सय ६१ जना किसान मात्रै बिमाको पहुँचमा पुगेका छन्  भने बाँकी ८० प्रतिशत अर्थात ९ हजार ६ सयबढी किसान अझै बिमाबाट वञ्चित छन् ।

जुम्ली किसानको मुख्य आम्दानीको स्रोत मानिने स्याउको बिमा नगर्दा किसानले घाटा खादै आएका छन् । अहिलेसम्म जुम्लाका ७ सय १ जनाले मात्रै पशु बिमा गरेका छन् । भने, ६ जनाले धान बिमा गरेका छन् ।जुम्लाको प्रमुख नगदे बाली, मुख्य आयस्रोत स्याउ खेतीमा जोखिम बढ्दै गए पनि पुँजी अभावले किसानले बिमाको पहुँचमा आउन नसकेको शिखर ईन्सोरेन्स जुम्ला शाखा प्रबन्धक दिप्दर्शन फडेराले बताए । स्थानीय सरकारले किसानको बिमा जोड दिन आवश्यक छ ।

त्यस्तै गत वर्षको बेमौसमी वर्षाले जुम्लाको १८ हेक्टर मार्सी फाँटको धानबालीमा क्षति गर्दा १२ सय मेट्रिक टन धान उत्पादन घट्यो । तर किसानले राहत पाएनन् । त्यसैले कृषि बिमा किसानको पहुँच वृद्धि गर्न स्थानीय सरकारको नीति आवश्यक रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी बताउछन्। कृषिमा आत्मनिर्भर कर्णाली र कृषि प्रदान मुलुकमा किसानको र उत्पादनको सुरक्षा हुने, प्रकोपबाट हुने क्षतिको राहत सरकारले दिने कृषिमैत्री नीति बन्न जरुरी रहेको उनको भनाइ छ ।

Nabintech