५ जेष्ठ २०८१, शनिबार
राप्ति सोनारीमा कालोपत्र गरिएको २४ घण्टा नपुग्दै उप्कियो पिच

लामो प्रतीक्षापछि गाउँमा पक्की सडक निर्माण थालिएपछि स्थानीय खुसी भएका थिए


  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७९, शुक्रबार १४:२८

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारीस्थित नारायणपुर–कुन्डा २१ किलोमिटर हुलाकी मार्गमा कालोपत्र गरिएको २४ घण्टा नपुग्दै भत्किएको छ । नारायणपुरदेखि दक्षिण कुन्डासम्मको राजमार्गमा ६८ करोड ७ लाख ६६ हजार ५ सय ९ रुपैयाँ लगानीमा आइतबारदेखि अक्सफाल्ट प्रविधिद्वारा कालोपत्र गर्न थालिएको हो । निर्माण सुरु गरेको स्थान नारायणपुर चोकको अक्सफाल्ट पहिलो रातमै भत्किएर भताभुंग भएको छ ।

‘कालोपत्र गर्ने भनेको गोबर माटोले लिप्ने त होइन नि ? फेरि रातभरिमै कसरी भत्कियो,’ सडक छेउमा बसोबास रहेका स्थानीय चन्द्रबहादुर बुढाले भने, ‘साँझ गरेको कालोपत्र बिहान उठेर हेर्दा भत्किएको थियो, सुरुमा त कुकुरले खोस्रे होला भन्ने लाग्यो ।’ बरु गोबर माटोले लिपेको सडक २÷३ दिनसम्म टिक्ने उनले बताए । ‘यो अक्सफाल्ट त त्यति पनि टिकेन,’ उनले भने, ‘बालबालिकाले हातले खोस्रिँदासमेत अक्सफाल्ट पाप्राझैं उप्केकाले राजमार्ग ग्राभेल सडकजस्तै बनेको छ ।’

लामो प्रतीक्षापछि गाउँमा पक्की सडक निर्माण थालिएपछि स्थानीय खुसी भएका थिए । ‘१५÷२० वर्ष त टिक्लाजस्तो लागेको थियो । बिहान उठेर जुत्ताले हान्दा राजमार्ग उध्रियो,’ स्थानीय कुलबहादुर खत्रीले भने, ‘यस्तो बाटो बनाएर पैसा खेर फाल्नुभन्दा त नबनाएकै राम्रो ।’ हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले २०८० मंसिरभित्र सम्पन्न गर्ने सर्तसहित एपेक्स खड्का कृष्ण जेभीलाई ठेक्का दिएको थियो । दुई लेनको राजमार्गमा अक्सफाल्टको सुरुवात गरिएको स्थानमै निर्माण निकै कमजोर देखिएको छ ।

आइतबार साँझसम्म चार गाडी अक्सफाल्ट बिछ्याइएको थियो । तर, सोमबार बिहान गोबर माटोले पोतेको आँगनझैं राजमार्गको कालोपत्र उप्केर भत्किएको देखिएपछि स्थानीयले कर्मचारी र राजनीतिक पार्टीका नेतासँगै स्थानीय सरकारका प्रतिनिधिको मिलेमतोमा कच्ची राजमार्ग बनाइएको आरोप लगाएका छन् । तर, स्थानीय सरकारका प्रतिनिधिले आफ्नो संलग्नता नभएको बरु गाउँमा जस्तो बाटो बनाए पनि हुन्छ भन्ने मानसिकताले २४ घण्टा नटिक्ने राजमार्ग निर्माण गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।

‘हामीले वास्ता नगरेको पनि होइन । ठेकेदारसँग हाम्रो कुनै मिलेमतो पनि छैन,’ राजमार्ग भत्किएकै राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले भने । वडा ४ वडाध्यक्ष मीनराज खड्काले गुणस्तरहीन राजमार्ग निर्माण गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर प्रक्रियागत ढंगले कारबाही अघि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘कार्यपालिकामा निर्णय गराएर कालोसूचीमा राख्ने सोचमा छौं,’ उनले भने । यता हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयले भने अक्सफाल्ट बिछ्याउनुअघि बागेश्वरी सिभिल ल्यावमा परीक्षण गरिएको र तीन गाडी अक्सफाल्टमा कुनै समस्या नदेखिएको चौथो गाडीको अक्सफाल्ट गुणस्तरहीन भएकाले पकड कमजोर हुँदा उप्केर भत्केको भन्दै बचाउ गरेको छ ।

‘प्रारम्भिक चरणमा ट्रायल मिक्स अर्थात् अक्सफाल्टको परीक्षण गर्ने क्रममै समस्या देखिएकाले अहिले गरेको कालोपत्र पूरै भत्काएर पुनर्निर्माण गर्ने भनेका छौं,’ भत्केको स्थलमै भेटिएका योजना कार्यालयका साइड इन्जिनियर निर्मल न्यौपानेले भने, ‘ट्रायलबेस नै राम्रो नभएपछि सुधार गर्न थालेका छौं ।’ अक्सफाल्ट बनाउने मेसिनले राम्रो काम नगर्दा समस्या देखिएको र मेसिन बनाउने इन्जिनियरसमेत बोलाइएको उनले बताए । ठेकेदार र हुलाकी राजमार्गका इन्जिनियरहरूले तीनथरी गिट्टी, सिमेन्ट र बिटुमिन मिश्रण गरी बनाइने अक्सफाल्टको तापक्रमको संकेत गर्ने उपकरणलाई दोष दिएका छन् ।

Nabintech