५ जेष्ठ २०८१, शनिबार
भूकम्पको उच्च जोखिममा लुम्बिनी प्रदेश

जुनसुकै विपतसँग जुध्नेगरी तयारीमा रहनु नै बुद्धिमानी


  • दशरथ घिमिरे

  • २४ जेष्ठ २०८०, बुधबार ०८:२५

देउखुरी: लुम्बिनी प्रदेश भूकम्पको उच्च जोखिमा छ । पूर्वी नवलपरासीदेखि पश्चिममा बर्दियासम्मको भूभाग सधैं भूकम्पको उच्च जोखिममा रहेको लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले जनाएको छ ।

भूकम्प आउनुअघि र आइसकेपछि गर्नुपर्ने सबै तयारी चुस्त राख्ने प्रदेश सरकारले जनाए पनि स्रोत साधनको अभाव भने कायमै छ । जसले गर्दा भूकम्प प्रतिरोधी गतिविधि र संरचना निर्माणले प्राथमिकता पाउन सकेको छैन । भूकम्पबाट मानवीय र भौतिक क्षति अधिक हुने भएकाले पनि सधैं सचेत र चनाखो बन्नुपर्ने, जसका लागि सचेतना अभियानहरु व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेश सरकारले भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगाउन भूकम्प प्रतिरोधी संरचना निर्माणसँगै मानवीय सचेतना अभिबृद्धिमा ध्यान दिएको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबावु कवारीले बताउनुभयो ।

‘नवलपरासीदेखि बर्दियासम्मको भू–भाग भूकम्पीय उच्च जोखिममा छ । यो क्षेत्रमा जुनसुकै बेला भूकम्प जान सक्छ’– उहाँले भन्नुभयो– ‘त्यसैले हामीले सचेतना अपनाउन आवश्यक छ ।’

भूकम्पीय जोखिमबाट हुने क्षति कम गर्ने बारेमा प्रदेशस्तरमा सरोकारवाला निकायहरुको बीचमा अभ्यास शुरु भएको छ । शहरी विपत तथा भूकम्पीय पूर्वतयारी परियोजनामार्फत विपत् प्रतिकार्यसँग जोडिएका निकायहरु र उनीहरुको क्षमता अभिबृद्धि, समन्वय र स्रोत साधनको व्यवस्थापनमा जोड दिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विपतसँग जोडिएका सामाजिक संघसंस्थाहरुको बीचमा कृत्रिम घटना अभ्यासको तयारी गरिएको छ । कृत्रिम घटना अभ्यास गर्नुपूर्व गरिने छलफलले भूकम्पीय जोखिमसँग जोडिएका नीति नियम, कानुनहरुको बारेमा अवगत हुने भूकम्पीय विपतविज्ञ डा. सिर्जन मल्लले बताउनुभयो । ‘हामीले बनाएका नीति नियम, कानुन, योजनाहरुलाई परीक्षण गर्ने काम गर्छ’– उहाँले भन्नुभयो– ‘नीति निर्माणसँग जोडिएका सरोकारवाला निकायहरुसँग बसेर अभ्यास गरेका छौं ।’

बाढी, पहिरो, चट्याङजस्ता प्राकृतिक विपतबारे पूर्वानुमान लगाउन सकिएपनि भूकम्प कतिखेर कहाँ जान्छ भन्ने बारेमा पूर्वानुमान लगाउन कठिन छ । बाढी, पहिरो, चट्याङबाट हुने मानवीय र भौतिक क्षति र भूकम्पबाट हुने मानवीय र भौतिक क्षति एक अर्कासँग तुलना गर्न कठिन हुने गरेको छ । त्यसैले भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भोग्नुपरेका थुप्रै उदाहरण छन् । भूकम्प आउँदा मानव निर्मित संरचनाका कारण मानवीय क्षति धेरै हुने गरेको छ । त्यही भएर भूकम्पबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न सधैंभरी उच्च सतर्कता अपनाउने बारेमा सार्वजनिक सरोकारका विषयमा छलफल हुन थालेको छ ।

लुम्बिनी प्रदेशमा भूकम्पीय जोखिम न्यूनीकरण गर्न अभियान थालिएको छ । सुपर परियोजना निर्माण गरेर भूकम्पीय जोखिम न्यूनीकरण गर्न अभियान केन्द्रित गरिएको सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेले जानकारी दिनुभयो । पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहे पनि यो क्षेत्रमा भूकम्प प्रतिरोधी संरचनाको अभाव छ । भूकम्पस‘ँग लड्न सकिदैन । तर जोगिन त सकिन्छ । त्यही भएर संरचना भूकम्प प्रतिरोधी बनाउन जरुरी छ । त्यसका लागि भूकम्प प्रतिरोधी मापदण्ड बनाएर कार्यान्वयन गर्न सुझाव दिइएको छ । सबै व्यक्ति अब चनाखो र जागरुक हुन जरुरी छ ।

२०७२ सालमा आएको भूकम्पले यसअघि गएका भूकम्पको कम्पनलाई भुलाइदिएको छ । विपत कतिखेर, कहाँ आईपर्छ भन्ने कसैलाई जानकारी हुँदैन । तसर्थ जुनसुकै विपतसँग जुध्नेगरी तयारीमा रहनु नै बुद्धिमानी हो । सन् १५०५ मा पश्चिम नेपालमा ठूलो भूकम्प गएको थियो । ५१७ वर्षयता नेपालको पश्चिममा ठूलो भूकम्प गएको छैन । भारतीय र तिब्बतीयन दुईवटा प्लेटको टकराव जारी छ । जसले गर्दा सञ्चित भएको शक्ति कुनै पनि बेला बिस्फोट हुनसक्ने जोखिम रहेकाले सधैं सतर्क रहनुपर्ने आवश्यकता रहेको विज्ञहरुको भनाइ छ ।

Nabintech