६ जेष्ठ २०८१, आईतवार
कोहलपुरको अकलघरुवामा अपांगता लक्षित घुम्ती शिविर

अपाङ्ग बाल अस्पतालले विकलाङ्ग बालबालिकाहरुको पुनःस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बिश्वास


  • टाइम्स संवाददाता

  • २५ जेष्ठ २०८०, बिहीबार १३:४९

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिका १५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र अकलघरुवामा स्वास्थ्य तथा पुनःस्थापन सेवाको लागि घुम्ती शिविरको आयोजना गरिएको छ । कोहलपुर नगरपालिका बाँके र विकलाङ्ग मित्र समूह तथा अपाङ्गबाल अस्पताल तथा पुनःस्थापना केन्द्र,बनेपा को संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।

वडा नम्बर १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको शिविरको कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले अपांगता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेर उद्घाटन गरे ।

अपांगता भएका व्यक्ति कमल पौडेललाई व्हिलचियर, नम बहादुर रोकायालाई बैशाखी र प्रितम थारुलाई वाकर प्रदान गर्दै शिविरको उद्घाटन गरिएको अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत विनिता खड्काले बताईन ।

त्यसक्रममा नगर प्रमुख आचार्यले अपाङ्ग बाल अस्पतालले विकलाङ्ग बालबालिकाहरुको पुनःस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बिश्वास व्यक्त गरे । उनले अस्पतालले बाँकेका अपांगता भएका बालबालिकालाई मात्र नभएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै बालबालिकालाई लाभ दिने पनि बताए।

स्वास्थ्य सेवा पाउनु व्यक्तिको नैसर्गिक अधिकार भएकाले अपांगता भएका व्यक्तिहरुको खोजी, पहिचान र उपचारका लागि अस्पतालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

यसैगरी कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदीले कुनैपनि नागरिक स्वास्थ्य सेवाबाट बंचित हुन नपरोस् भन्ने सवालमा नगरपालिका चनाखो रहेको बताईन। उनले शिविरले जनरल र अपांगता भएका बालबालिकालाई लक्षित गरेर आयोजना गरिएको शिविरले लक्षित समुदायलाई लाभ दिने बिश्वास व्यक्त गरिन।

अस्पताल व्यबस्थापक प्रकाश यादवले नेपालगन्जबाट बिस्थापितको तयारीमा रहेको अस्पताललाई स्थान उपलब्ध गराएर कोहलपुर नगरपालिकाले बाँकेको कोहलपुरबाट सेवा प्रबाहक अवसर दिएको भन्दै नगरपालिकाप्रति हार्दिकता व्यक्त गरे।
शिविर उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आले, आर्थिक विकास समिति संयोजक अनिता बुढा, स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी, नगर प्रबर्द्धन केन्द्रका डा. गोबिन्द चौधरी, सिविएम ग्लोबलका कार्यक्रम संयोजक सम्झना शाह लगायतको उपस्थिति रहेको थियो ।

त्यसक्रममा अपाङ्ग बाल अस्पतालले कोहलपुर नगरपालिकालाई कदरपत्रले सम्मानित समेत गरेको थियो । सामान्य स्वास्थ्य, हाडजोर्नी र नशारोग तथा पुनःस्थापना सम्वन्धी आयोजित घुम्ती शिविरमा अर्थोपेडिक सर्जन डा यकराज गुरुङसहितको मेडिकल टिमले स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा दिइरहेको पनि अस्पतालका सूचना तथा बाल संरक्षण अधिकृत खड्काले कोहलपुर टाईम्सलाई बताईन।

Nabintech