५ जेष्ठ २०८१, शनिबार
प्रशिक्षणका लागि कुस्ती टोली भारत प्रस्थान

  • टाइम्स संवाददाता

  • १६ श्रावण २०८०, मंगलवार १४:५५

नेपालगञ्ज : चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एशियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ । यहाँस्थित नेपाल भारत जमुनाहा नाका भएर नेपाली राष्ट्रिय कुस्ती टोलीका चार जना खेलाडी र एक जना प्रशिक्षक भारततर्फ प्रस्थान गरेका हुन् ।

भारतको उत्तर प्रदेश जाने क्रममा केहीदिन अघि काठमाडौँबाट नेपालगञ्ज पुगेको सो टोलीले सात दिनसम्म यहाँ प्रशिक्षण गरेका थिए ।

कुस्ती टोलीका प्रमुख प्रशिक्षक मुमताज अलि ईद्रिसीले भारत उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा दुई महिनासम्म हुने बन्द प्रशिक्षणमा नेपाली खेलाडीहरू सहभागी हुने बताए । उनले सो प्रशिक्षण शिविरमा वरिष्ठ भारतीय कुस्ती प्रशिक्षकहरूले प्रशिक्षण दिनु हुने जनाउँदै एशियाली खेलकुदको लागि सबै तयारी त्यही गरिने जानकारी दिए ।

सोमबार भारत प्रस्थान गरेको नेपाली कुस्ती टोलीमा पुरुष खेलाडीहरू सुरेश चुनारा (७४ केजी) र राज यादव (१२५ केजी) तथा महिला खेलाडीहरू शिभाङ्गी दुबै (५७ केजी) र सुशीला चन्द (६२ केजी) रहेका छन् । टोलीको प्रमुख प्रशिक्षकमा ईद्रिसी रहेका छन् ।

भारत गएका चारै खेलाडी १३औँ दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् । प्रशिक्षक ईद्रिसीका अनुसार १३ औँ सागमा शिभांगी र सुशीलाले रजत तथा सुरेश र राजले कांस्य पदक जितेका थिए ।

Nabintech