५ जेष्ठ २०८१, शनिबार
आजदेखि भारतमा सुरु हुँदै एकदिवसीय विश्वकप

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०८०, बिहीबार ०६:०८

काठमाडौं : आईसीसी एकदिवसीय पुरुष विश्वकपको १३औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ।  ४६ दिनसम्म चल्ने प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारतमा छन्। दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित भारतका १० शहरमा खेल हुनेछ।

विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दुईपटकको विजेता वेस्टइन्डिज भने योपटक छनोट हुन सकेन।

विश्व वरीयताको शीर्ष स्थानमा रहेको घरेलु टोली भारतलाई उपाधिको प्रबल दाबेदार मानिएको छ। विश्वकपमा सहभागी टोलीहरुमा शीर्ष चार ब्याटरहरुमध्ये ४० भन्दा बढीको रन औसत भारतीय ब्याटरको मात्र छ । विराट कोहली, शुभमन गिल, रोहित शर्मा फर्ममै छन्।

एसिया कपमा केही निराशाजनक प्रदर्शन गरे पनि पाकिस्तान १९९२ पछि पहिलोपटक विश्वकप जित्ने योजनामा छ। नसिम साह चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि तीव्र गतिको आक्रमणमा केही असर परेको छ। कप्तान बाबर आजम एकदिवसीय ब्याटरको शीर्ष स्थानमा छन्।

इङ्ल्यान्ड उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ। डिफेन्डिङ च्याम्पियनसँग सन्तुलित र आक्रामक टोली छ। अघिल्लोपटक उपविजेता बनेको न्युजिल्यान्डका कप्तान केन विलियम्सन चोट मुक्त हुँदै पिचमा पर्किएका छन्।

पाँचपटकको च्याम्पियन अस्ट्रेलिया हरेक संस्करणको विश्वकपको दाबेदार हो। म्याच विनरहरुले भरिएको अस्ट्रेलियासँग कुनै पनि टिमभन्दा राम्रो ब्याटिङ र बलिङ आक्रमण छ।प्रतियोगिताको उपाधि दाबेदार नभए पनि अफगानिस्तान कुनै टिमको उपाधि यात्रामा बाधक बन्न सक्छ।

सिंगल राउन्ड-रोबिनको आधारमा खेलिने प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल हुनुअघि ४५ खेल हुनेछन्। राउन्ड रोबिनका शीर्ष चार टोलीले फाइनलमा स्थान बनाउँदा पहिलो र चौथो हुने टोलीले नोभेम्बर १५ मा मुम्बईमा र दोस्रो र तेस्रो हुने टोलीले नोभेम्बर १६ मा कोलकातामा सेमिफाइनल खेल्नेछन्।

फाइनल खेल नोभेम्बर १९ अहमदाबादमा हुनेछ। दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्नेछन्। यी दुईबीचको खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।

हालसम्म २० देशले विश्वकप खेल्दा ६ देशले मात्रै उपाधि जितेका छन्। भारतले पहिलोपटक पूर्ण आयोजकको हैसियतमा प्रतियोगिता आयोजना गर्दै छ।

Nabintech