२१ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज म्याराथन जित्ने यि पार्कि

  • टाइम्स संवाददाता

  • १० मंसिर २०८०, आईतवार ०७:४०

कोहलपुर: नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । यसअघि छैटौं संस्करणको उपाधि जितेका पार्कीले शनिबार २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेर दोस्रो पट नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । नेपाली सेनाका खडकबहादुर खड्का भने २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भए ।

सातौं संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेर तेस्रो भए सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौ, प्रेमबहादुर बस्नेत छैठौ, शेरबहादुर बुढा सातौ र अजय विके आठौं भए । उपाधि जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार पाएका छन् ।

महिलाहरुको हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन् । लगातार तेस्रो पटक उपाधि जित्ने क्रममा उनले निर्धारित दूरी १ घण्टा २० मिनेट ५१ सेकेन्डमा पार गरिन् । आठौंमा उनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा उक्त दुरी पार गरेकी थिइन् । त्यस्तै फूलमती राना एक घण्टा २१ मिनेट एक सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् र ५० हजार रुपैयाँ पाइन् । छैठौं संस्करणमा उपाधि जितेकी पुष्पा भण्डारी एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भइन् र २५ हजार रुपैयाँ पाइन् ।

१० किलोमिटर दौड तर्फ पुरुषतर्फ दुर्गाबहादुर बुढा पहिलो, नरेन्द्रसिंह रावल दोस्रो र धर्म महर्जन तेस्रो भए । १० किलोमिटर महिलातर्फ राममाया बुढा पहिलो, आशा रावत दोस्रो र मनसरा बुढा तेस्रो भएका छन् । १० किलोमिटर दौडको महिला र पुरुष दुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

५ किलोमिटर ह्वीलचियर दौडमा पुरुषतर्फ यज्ञबहादुर खत्री पहिलो, रोहितकुमार तमोली दोस्रो र शमशेर अली बेहना तेस्रो भएका छन् । उनीहरुले ५ हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन् । ५ किलोमिटर ह्वीलचियर दौडको महिलातर्फ देउकुमारी थारु पहिलो, र श्यामकली थारु दोस्रो भएका छन् । उनीहरुले पाँच हजार र तीन हजार पुरस्कार पाएका छन् ।

किड्स रनमा छात्रतर्फ अभिशेष खड्का पहिलो, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो, छात्रातर्फ कृति परियार पहिलो र हिमानी बटाला दोस्रो भएका छन् । ५ किलोमिटर कर्पोरेट रनमा योगेश मल्ल पहिलो भए । एशोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथन बिजेताले लण्डन म्याराथनमा अवसर पाउने आयोजकले बताएका छन् ।

Nabintech