१८ बैशाख २०८१, मंगलवार
बेलैमा श्रोत ब्यबस्थापन गर्न नसके बाँकेमा खानेपानी नै मुख्य समस्या

खानेपानी आयोजना मार्फत उपभोक्ताहरुको माग पुरा गर्न पछिल्लो समय हम्मेहम्मे


  • टाइम्स संवाददाता

  • १३ मंसिर २०८०, बुधबार १७:२५

कोहलपुर,बाँके:बाँकेमा शुद्ध खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । स्रोतको उचित संरक्षण र बैकल्पीक स्रोत ब्यवस्थापन नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको हो । बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण, व्यवस्थापन र विवरणमा चुनौती थपिएको कोहलपुर क्षेत्रमा संचालित खानेपानी आयोजनाहरुको अनुभव छ ।

विगतमा सिमित सँख्यालाई लक्षित गरी संचालन गरीएका खानेपानी आयोजना मार्फत उपभोक्ताहरुको माग पुरा गर्न पछिल्लो समय हम्मेहम्मे पर्न थालेको उनिहरुको भनाई छ । कोहलपुर बृहत्त शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुषाल खानेपानी समस्याको दिर्घकालीन समाधानकालागी एकीकृत रुपमा बृहत्त खानेपानी संस्थाको अवधारणका साथ अघी बढ्नुपर्ने बताउँछन ।

नगरभित्रका सबै नागरीकलाई स्वच्छ खानेपानी पुर्याउन स्रोत ब्यवस्थापन सबैभन्दा ठुलो चुनौती रहेको बताउँदै भुषालले भेरी-बबईको पानी मानखोला हुँदै कोहलपुरसम्म ल्याउन सके मात्र यहाँको खानेपानीको समस्या हल हुने दावी गरे । स्थानिय स्तरमा रहेका खानेपानीका स्रोतको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने भुषालको भनाई छ । डुडुवा, मानखोला, किरणनाला जस्ता पानीका मुहानहरुलाई संरक्षण गर्नु स्थानिय सरकारको दायीत्व रहेको बताउँदै दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न यस्ता स्रोतहरु उपयोगी हुनसक्ने भुषाल बताउँछन ।

बैजनाथ गाँउपालिका ४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजकुमार ढकाल पनि भुषालको भनाईसँग सहमत छन । पानीको स्रोत ब्यवस्थापन नहुँदासम्म उपभोक्ताहरुलाई प्रयाप्त मात्रामा खानेपानी पुर्याउन सक्ने अवस्था नरहेको उनको भनाई छ । १९ वर्षअघि स्थापना भएर डेढ वर्षदेखी पानी वितरण सुरु गरेको नौवस्ता खानेपानी समितिले अहिलेसम्म ५१२ घरधुरीलाई मात्र खानेपानी वितरण गरीरहेको छ । २४०० घरधुरीलाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य भए पनी स्रोतको ब्यवस्थापन हुन नसक्दा समस्या भएको ढकाल बताउँछन ।

डिप बेरीङ वा पानीको बैकल्पीक स्रोत, पानी भण्डारण गर्नकालागी डेढ लाख लिटर क्षमताको ट्याङ्की र पानी शुद्ध गर्ने प्रशोधन केन्द्र निर्माण भए लक्ष्य अनुसार पानी बितरण गर्न सकिने ढकालले बताए । आयोजनाको क्षेत्रभित्र ४२ किलोमिटर पाईपलाईन बिस्तार भईसकेको र थप २२ किलोमिटर पाईप बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ढकालले आवश्यक बजेटकालागी बिभिन्न निकायमा पहल भईरहेको बताए । नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजकुमार ढकाल ।

खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपाने समेत बाँकेमा खानेपानीको अवस्था भयावह रहेको स्विकार्छन । भएका खानेपानीका स्रोतको सहि सदुपयोग हुन नसकेको प्रति दु:ख ब्यक्त गर्दै खेर गईरहेको पानीको ब्यवस्थापनकालागी सबैले सक्दो प्रयास गर्नुपर्ने न्यौपानेको भनाई छ । बाँकेमा १५-२० वर्षदेखिका योजनाहरु अझै सम्पन्न हुन नसकेको अवस्थामा नयाँ योजनाहरु बनाउनु भन्दा एकिकृत रुपमा एउटै योजना बनाएर अघि बढ्नुपर्ने मत न्यौपानेको पनी छ ।

बाँकेमा खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको लुमन्ती आवासका लागि सहयोग समुहका कार्यक्रम संयोजक सुर्य कुमार खड्काका अनुसार कोहलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति संचालनमा रहेका छन भने ३ वटा निर्माणाधिन अवस्थामा रहेका छन । चालु अवस्थामा रहेका ४ वटा खानेपानी उपभोक्ता समितिबाट ६ हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्याईएपनि अझैं धेरै नागरीक दुषित पानी खान बाध्य रहेको खड्काले बताए ।

कोहलपुर नगरपालिकाभित्र रहेका २४ हजार १ सय ८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने बताउँदै खड्काले पछिल्लो समय खानेपानी आयोजना मार्फत २५ प्रतिशत उपभोक्तालाई मात्र स्वच्छ खानेपानी पुर्याउन सकिएको बताए । उनले अझैं पनि ७५ नागरीक ट्युवल तथा बोरीङको पानी खान बाध्य रहेको उल्लेख गर्दै पानीको उचित स्रोत ब्यवस्थापनमा ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

Nabintech