२ जेष्ठ २०८१, बुधबार
नेपालगञ्जमा टाँसियो सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’

  • टाइम्स संवाददाता

  • ४ पुष २०८०, बुधबार ०९:३३

नेपालगञ्ज:सवारी दुर्घटना न्यूनीकरणका लागि  जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो ।

मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।  बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मङ्गलबार तीन सय  सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिनुभयो । उहाँले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गरिएको बताउनुभयो ।

“राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा  रिफ्लेक्टिभ  स्टिकर टाँसेका हौँ”, प्रवक्ता डाँगीले भन्नुभयो । उक्त अभियानमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवर लगायतको सहभागिता रहेको थियो ।

Nabintech