३ जेष्ठ २०८१, बिहीबार
डुडुवाले आफनो मातहतका कार्यालय सिसिटिभिबाट मनिटर गर्दै

पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रणाली लागू


  • टाइम्स संवाददाता

  • ५ पुष २०८०, बिहीबार १७:०९

डुडुवा:बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष (मनिटर)निगरानी शुरु गरेको छ । आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार पालिकाले “सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम”मार्फत ती कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरियता, गतिविधिबारे जानकारी र सुरक्षाको अवस्थाको निगरानी गरिनेछ । डुडुवा–३ बनकट्टीस्थित पालिकाको प्रशासनिक कार्यालय भवनमा इन्टरनेटसहितको प्रविधी जडान गरि सबै कार्यालयहरुमा सिसिटिभी क्यामरा जडान गरेर पालिका अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानी गरिएको छ । यो प्रणालीले सबै कार्यालयमा इन्टरकम फोन, इन्टरनेट र सिसिक्यामरामार्फत फुटेज समेत हेर्न सकिने पालिकाका सूचना प्रविधी अधिकृत सुरेश बर्माले बताए ।

उनका अनुसार पालिकामा आइटीको सर्भरसहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ । यो प्रणालीले वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ । यो प्रणाली लागू भइसकेपछि समयमा कार्यालय खुल्ने र बन्द हुने, सबै कर्मचारीहरु समयमा आउने, सेवग्राहीलाई समयमा सेवा दिने लगायतको सेवाको प्रभावकारिता बढ्ने पालिका अध्यक्ष चौधरीको भनाई छ ।

उनका अनुसार पालिकाको सबै कार्यालय तथा इकाईमा विस्तारै यो प्रणाली थप विस्तार गर्ने योजना रहेको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रणाली लागू गरिएको छ ।

Nabintech