१ जेष्ठ २०८१, मंगलवार
जानकी ५ मा ५ सय ४१ जनालाई निस्सा वितरण

  • टाइम्स संवाददाता

  • ६ पुष २०८०, शुक्रबार १६:५७

जानकी, बाँके: बाँके जिल्लाका भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि विभिन्न पालिकामा निस्सा वितरण भईरहेको सन्दर्भमा शुक्रबार जिल्लाको जानकी गाउँपालिका ३ मा पाँच सय ४१ जना भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमी आयोग बाँकेको अगुवाइमा जानकी गाउँपालिका ३ का पाँच सय ४१ जना दलित भूमीहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष छव्वन खाँले बताए।

खाँका अनुसार छ वटा वडा रहेको जानकीमा हालसम्म चार वडामा निस्सा वितरण कार्य सम्पन्न भईसकेको छ । वडा नम्बर २ मा पाँच सय २, वडा नम्बर ४ मा चार सय ६०, वडा नम्बर ६ मा दुई सय ४१ जना र आज शुक्रबार वडा नम्बर ३ मा पाँच सय ४१ जना दलित भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी नागरिकहरुलाई निस्सा वितरण गरिएको हो ।

बाँकी रहेका दुई वटा वडामा पनि हप्तादिन भित्र निस्सा वितरण गरिने उनले बताए । जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण कार्य पहिलो प्रकृया भन्दै अध्यक्ष खाँले अबको ४–५ महिना भित्र निस्सा प्राप्त गरेका नागरिकलाई जग्गाधनी पूर्जा समेत वितरण गरिने बताए ।

राष्ट्रिय भूमी आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले आयोगले आफ्नो कामलाई तिब्रताका साथ अगाडि बढाउँदै लगेको बताउदै भूमीहिन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर उनीहरूलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई आयोगले जिम्मेवारी ढङ्गले अगाडि बढाइरहेको बताए ।

Nabintech