१ जेष्ठ २०८१, मंगलवार
कोहलपुर ९ को ऐलानी जग्गा नाप्न शुरु

जग्गा नापजाँचकै लागि पालिकाको एक करोड बजेट खर्च


  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार ०९:५४

कोहलपुर :कोहलपुर नगरपालिका वडा नम्बर ९ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । वडा नम्बर ९ को बाटो पश्चिमको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको हो । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडाले जनाएको छ ।

निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलीले जग्गा नापजाँच गर्नेछ । त्यसका लागि वडाले निस्सा प्रमाणपत्र लिन आग्रह गरेको छ । निस्सा प्रमाणका लागि घरधुरी कर बुझाएको प्रमाण लिएर वडा कार्यालयमा आउन वडाले सबैलाई आग्रह गरेको छ । यो वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी एक हजार बढी रहेको पाइएको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासी भने ७० जना भएको प्रमाणित भएको छ ।

७७ जनाले फारम भरे पनि ७ जनाको अन्यत्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले ७० जना भूमिहिन दलित र भूमिहिन सुकुम्बासी रहेको प्रमाणित गरेको वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले जानकारी दिए । त्यसैगरी ९५१ जना अव्यवस्थित बसोबासीले फारम भरेका छन् । यसअघि ८३५ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरे पनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो । त्यसक्रममा वडा नम्बर ९ मा थप ११६ जनाले फारम भरेको वडा अध्यक्ष योगीले बताए ।

कोहलपुर नगरपालिकामा करिव २० हजार घरधुरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ती घरधुरीलाई लालपूर्जा वितरणको तयारीसहित पालिकाले जग्गा नापजाँचको कामलाई तीब्रता दिएको बताए । ‘करिव २० हजार घरधुरीलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ,’ उनले भने–‘चालू आर्थिक वर्षसम्म जग्गा नापजाँचको सम्पूर्ण काम पूरा गर्ने योजना छ ।’ कुनै पनि नागरिक भूमिहिन भएर बस्न नपरोस् भन्ने संघीय सरकारको नीति रहेको र त्यही अनुसार राष्ट्रिय भूमि आयोगले समेत काम गरिरहेकाले पालिकाले पनि संघीय सरकारको नीति र भूमि ऐनलाई टेकेर काम गरिरहेको उनको भनाई छ ।

नगर उपप्रमुख संगिता सुवेदीले वन र भूमि ऐनबीचको टकरावले केही समस्या भए पनि यो प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाइएको बताइन् । उनले विगतमा जस्तो नापी हुने तर लालपूर्जा वितरण नहुने समस्या यो पटक नहुने भन्दै आफ्नै कार्यकालमा लालपूर्जा वितरण गरिने प्रतिबद्धता समेत गरिन् । नगरपालिकाले गत वर्षदेखि कोहलपुर नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको ऐलानी जग्गाको नापजाँच सुरु गरेको हो । जग्गा नापजाँचकै लागि पालिकाले एक करोड बजेट खर्च गरिरहेको उनले बताइन् ।

त्यसैगरी राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य अशोक पोख्रेलले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई छिटो भन्दा छिटो जग्गा धनी पूर्जा वितरणको महाअभियानमा आयोग लागिरहेको बताए । उनले यसअघि बनेका अन्य आयोग भन्दा राष्ट्रिय आयोग अधिकार सम्पन्न आयोग भएकाले यो पटक जग्गाधनी पूर्जा प्राप्त हुँदैन की भन्ने शंका नगर्न सबैलाई आग्रह गरे । ‘यसअघि पनि आयोगहरु नबनेका होइनन्,’ उनले भने–‘तर ती आयोग भन्दा यसको प्रारुप नै फरक छ । कार्यविधि सहित अधिकार सम्पन्न आयोग भएकाले यो पटक ढुक्क भएर लालपूर्जा पाउनुहुन्छ ।’ उनले आफ्नै कार्यकाल र अहिलेकै जनप्रतिनिधिहरुबाट लालपूर्जा वितरण गर्ने महाअभियानमा आयोग अगाडि बढेको पनि उल्लेख गरे । अन्य पालिका भन्दा कोहलपुर नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको ऐलानी जग्गाको नापजाँच सुरु छिटोछरितो गर्दै आएको भन्दै लालपूर्जा वितरणको काम पनि कोहलपुरमा छिट्टै उनले बताए ।

अहिलेसम्म कोहलपुरका १, २, ५, ८,१० र १२ नम्वर वडाको नापजाँच पूरा भएको छ । वडा नम्बर ३, ११, १४ को अन्तिम चरणमा पुगेको छ । अब वडा नम्बर १४ को नापजाँच सकियो भने वडा नम्बर १३ को नापजाँच सुरु हुनेछ भने वडा नम्बर ११ को नापजाँच सकियो भने वडा नम्बर ३ को नापजाँच सुरु गरिएको नगरस्तरीय भूमिहिन सम्वन्धि उच्च स्तरीय समितिका संयोजक वीरेन्द्र कुमार शाहले बताए । उनका अनुसार शनिवार वडा नम्बर १५ को नापजाँच पनि सुरु गर्ने तयारी छ । त्यसपछि वडा नम्बर ४, ६ र ७ को नापजाँच गरिने शाहले बताए । वडा नम्बर ९ को जग्गा नापजाँच उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १४ का वडा अध्यक्ष नमबहादुर आले, वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर राना, १३ का वडा अध्यक्ष डम्वर खड्का, १५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी, आर्थिक विकास समिति संयोजक अनिता बुढा, सुशासन समिति संयोजक सुनिता विष्ट, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

Nabintech