२१ बैशाख २०८१, शुक्रबार
तरकारीबाट आत्मनिर्भर बन्दै यी बाँके बर्दियाका कर्मठ महिला

बचत रकमबाट मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै


  • सरला सुबेदी

  • ८ पुष २०८०, आईतवार १७:२४

नेपालगन्ज:बिहान ४ बजेदेखि नै कोहलपुर नेपालगन्ज विभिन्न चोकमा कठ्याङ्ग्रिने जाडोको परवाह नगरी डोको र डालोमा सागसब्जी तरकारी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् बाँके बर्दियाका थारू महिला । नेपालगन्जको धम्बोजि चोकचोकमा महिला किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा लस्करै बसेका हुन्छन् न चिसो न घाम पानी पर्दा शीत झर्दापनि बोरा ओढेर ग्राहकको प्रतीक्षामा बसिरहेका हुन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी बढैयाताल गाउँपालिका ४ कि तुल्सा थारु जो बिहानै गुलरिया बाट नेपालगन्ज आउने बस चढेर नेपालगन्ज आउनुहुन्छ अनि धम्बोजि चोक निरको सडकपेटिमा तरकारीको पसल लगाउनुहुन्छ अनि बिहानभर तरकारी बेचेर पुन घर फर्कने गर्नुहुन्छ। उहाँको दिनचर्या यसरी नै बित्ने गरेको बताउनुहुन्छ। यस्तै बढैयाताल गाउँपालिका ७ राजापुरकि रामप्यारी चौधरी उहाँले व्यावसायिक रूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर बन्नुभएको छ। उहाँ भन्नुहुन्छ ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषि कर्मबाट राम्रो आम्दानी भएको छ ।’

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले बस त कहिले अटो चढेर आउने रामप्यारी पनि सडकपेटिमा नै तरकारी बेचेर आत्मनिर्भर हुनुभएको छ । दैनिक गुजरा टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ ।

५ देखि ७ कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उहाँले वार्षिक २ देखि ३ लाखसम्मको कारोबार गर्दै बचत गर्दै आएको बताउनुभयो । बचत रकमबाट नै उहाँ मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आउनुभएको छ।

यस्तै बाँके बैजनाथ गाउँपालिका पेडारीकि दुखिया चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्नुभएको छ । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेँडा काउली फलाउने दुखिया धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउनुहुन्छ उहाँले गत वर्ष ३ लाख आम्दानी गरेको बताउनुभयो। चिसो होस या जाडो बिहान कोहलपुरको बजार बजारमा तरकारी राख्नुस् भन्दै घरघर पुग्ने दुखिया दिउसो चार बजेदेखि कोहलपुरको कृषि हाटबजारमा बसेर तरकारी बेच्नुहुन्छ । यस्तै बर्दिया बासगडि नगरपालिका सटरियाका थारु महिला दिदिबहिनिहरु पनि बिहानै टाउकोमा डालो अनि डालोमा तरकारी बोकेर कोहलपुरको बजार बजारमा ताजा साग तरकारी राख्नुस् भन्दै झिसमिसेमै आइपुग्नु हुन्छ।

बर्दिया बासगडि नगरपालिकाकी बेचन थारु ,भिरा चौधरी ललिता चौधरी तरकारी बेच्न एकदिन बिराएर कोहलपुर आउनुहुन्छ । उहाँहरू सबैको घर सटेरिया  (बर्दिया) हो । तरकारी भरिएको बाँसको छिटुवा टाउकोमा बोकेर बजारका गल्लिगल्ली डुलाउँदै तरकारी बेच्नु उहाँहरूको दैनिकी बनेको छ ।

सिजन अनुसार आफ्नै बारीमा उत्पादित तरकारी बेच्न हिँड्दै गरेका सयौँ थारु महिलाहरूका झुण्ड सहर बजारका चोक गल्लीमा देखिनु अब सामान्य दृश्य जस्तै बनेका छन् ।

झिसमिसेमै उठेर बजार हिँड्नु त्यो बस्तीको लय बनिसकेको छ । बस्तीमा बिहानै म्युजिक भ्यान आईपुग्छन । कोही साइकलमा कोही मोटरसाइकलमा त धेरैजसो भ्यानमा चढेर तरकारी लिएर गाउँबाट निक्लिन्छन् । घर छेउमै बाँसगढी बजार छ । बजार सानो भएकाले गाउँका सबै उत्पादन त्यहाँ खपत हुँदैनन् । बजार खोज्दै जाँदा उनीहरू महेन्द्र राजमार्ग आसपासका स साना चोक बजार हुँदै कोहलपुर तथा नेपालगन्ज सम्म पुग्न पर्ने बाध्यता उनीहरूको रहेको छ।

थारु महिलाहरूले तरकारी बेचेर दुई चार पैसा हात पार्न थालेपछि बस्तीको दैनिकी पुरै फेरिएको छ । एकातिर आर्थिक स्वतन्त्रताले महिलाहरूलाई आत्मविश्वासी बनाएको छ भने बजारको प्रतिस्पर्धाले उनीहरूलाई उत्पादनको विविधता सिकाएको छ । छोराछोरीको पढाई खर्च , औषधी उपचार , लत्ताकपडा र घरायसी सामानको लागि उनीहरूले ऋण खोज्नु परेको छैन ।

Nabintech