४ जेष्ठ २०८१, शुक्रबार
कहिले पुन:निर्माण होला नेपालगञ्जको जुङ्गे महादेवको मन्दिर !

नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाट समेतका क्षेत्र फराकिलो हुने


  • टाइम्स संवाददाता

  • ९ पुष २०८०, सोमबार १८:३६

नेपालगञ्ज: नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एकमात्र जुङ्गे महादेवको मूर्ति भएको मन्दिर पुन:र्निर्माणमा ढिलाइ भएको पाईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुन:र्निर्माणका लागि दुई करोड रुपियाँ बजेट विनियोजन गरेपछि गत चैतमा टेण्डर आव्हान भइ काम सुरु भए पनि निर्माण कार्यमा ढिलाइ भएको स्थानियहरुको आरोप छ ।

सुरुवाती चरणमा पानी सुकाएर केही काम भए पनि त्यसलगत्तै निर्माण कार्यअघि बढ्न सकेको छैन । तालमा घाट निर्माण भएको छ । जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ । मन्दिर पुन:र्निर्माणका लागि तालको पानी सुकाइएको हो । मन्दिर र मूर्ति यथावत राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी काम सुरु गरिएको जानकारी दिएका छन । मन्दिरसम्म पुग्न बर्षौ पहिले बनाइएको प्रवेशमार्ग एकदमै जिर्ण भएपछि उपमहानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । प्रमुख विष्टले भने, ‘नयाँ संरचना निर्माण भए पनि मन्दिरभित्रका घाट समेतका क्षेत्र फराकिलो हुनेछन्, घाटको काम करिब भइसकेको छ ।’

उपमहानगरपालिकाका इञ्जिनियर सुरज शर्माका अनुसार गत बर्ष निर्माणका लागि पानी सुकाउने क्रममा निर्माण सामग्री फस्ने लगायतका कारणले निर्माणमा ढिलाइ भएको थियो । इञ्जिनियर शर्माले भने, ‘प्राविधिक कारणले विगतमा ढिलाइ भए पनि अहिले निर्माण कम्पनीले काम सुरु गरेको छ ।’ ग्रेटर नेपालले मन्दिर निर्माणको जिम्मा पाएको छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको तालको बीच भागमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जिर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्री लगायत विभिन्न चाडपर्वको समयमा भक्तजनको अधिक भिड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहज हुनेछ ।

Nabintech