४ जेष्ठ २०८१, शुक्रबार
भेरी अस्पताल परिसरमा बुद्धको मुर्ति

  • टाइम्स संवाददाता

  • १७ पुष २०८०, मंगलवार १७:२२

नेपालगञ्ज:नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ ।

यशोधरा बौद्ध महिला समाज र शाक्य समाजलको पहलमा स्थापना गरिएको भगवान बुद्धको मूर्तिको मङ्गलबार बौद्ध परम्परा अनुसार विधिवत् स्थापना भएको हो ।

यशोधरा बौद्ध महिला समाजका अध्यक्ष यशोधरा गुरुमा, शाक्य समाजका अगुवा सेम शाक्य लगायतको उपस्थितिमा बौद्ध मूर्तिको विधिवत् स्थापना गरिएको हो । शाक्य समाजका अध्यक्ष सेम शाक्यले अस्पताल विकास समितिको समन्वयमा भगवान बुद्धको मूर्ति राखिएको बताउनुभयो ।

शाक्यले भन्नुभयो, ‘‘अस्पताल परिसरमा शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति भएपछि बिरामी, कुरुवा तथा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा पनि शान्तिको वातावरण हुने अपेक्षा गरेका छौं ।’’

अस्पतालभित्र उपचारका लागि प्रवेश गर्नुभन्दा अगाडि शान्तिका अग्रदूत भगवान बुद्धको दर्शन गरी मनमा शान्तिको अनुभूति हुने उहाँको भनाइ छ । ललितपुरका अमिरमान शाक्यले यो मूर्ति उपलब्ध गराउनुभएको  हो ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भगवान बुद्ध धार्मिक हिसाबले मात्रै नभई शान्तिका अग्रदूत भई नेपालको नाम विश्वमा चिनाउन सफल भएकाले अस्पताल परिसरमा उहाँको मूर्ति राख्न सहमति दिइएको बताउनुभयो ।

Nabintech