२४ बैशाख २०८१, सोमबार
बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुदै

  • टाइम्स संवाददाता

  • १८ पुष २०८०, बुधबार १९:३९

नेपालगन्ज:बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र÷छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता माघ ७ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीयतहरुको विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । बुधबार प्रतियोगिता आयोजना बारेमा नेपालगन्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघ बिच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखाका उप–सचिव गोर्ख बहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरेका थिए ।

नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए । नेपालगन्ज उप–महानगरपालिकासँग सम्झौता भएलगत्तै प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको चन्दले जानकारी गराए ।

बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् । माघको ७ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

उनले भने, ‘हामी निकै उत्साहका साथ विद्यालय स्तरको मेयर कप प्रतियोगिता आयोजना गर्न लागिरहेका छौं । यसले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ । प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेका छौं । मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागार गर्नेछ ।’ नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टेनिङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम जारी रहेकोले प्रतियोगिता धम्बोझीमा गर्नु परेको बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

Nabintech