२१ बैशाख २०८१, शुक्रबार
चलि ठाकुरद्वारा: माघ २६ र २७ गते ‘टुर दि ठाकुरद्वारा’ को छैठौं संस्करण हुने

सचिवालय उद्घाटन


  • टाइम्स संवाददाता

  • २५ पुष २०८०, बुधबार ०६:४७

नेपालगन्ज : पर्यटन प्रवर्द्धनका लागि आगामी माघ २६ र २७ गते ‘टुर दि ठाकुरद्वारा’ को छैठौं संस्करण हुने भएको छ । साइकल यात्रामार्फत बाँके-बर्दियाको पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष ‘टुर दि ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ ।  नेपालगञ्ज साइक्लिङ क्लवले हरेक वर्ष आयोजना गर्ने ‘टुर दि ठाकुरद्वारा’ले बाँके र बर्दियामा रहेका धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटकीयस्थल तथा संस्कृतिको प्रचारप्रसार गर्दै आएको छ ।

‘टुर दि ठाकुरद्वारा’को सचिवालय आज नेपालगन्जमा उद्घाटन गरिएको छ । सचिवालयको संघीय सांसद डा. धवलशमशेर राणाले उद्घाटन गरे । संघीय सांसद डा. राणाले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म हुने साइकलयात्रा जस्तै नेपालगन्जदेखि रारासम्म जाने गरी कार्यक्रम गर्न सके पर्यटन प्रवर्द्धनमा अझ टेवा पुग्ने बताए ।

‘टुर दि ठाकुरद्वारा’को छैठौ संस्करणमा नेपाल र भारतका गरी करिब तीन सय साइकल यात्रीको सहभागिता रहने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । ‘टुर दि ठाकुरद्वारा’ अघि नेपालगञ्जमा १२ वर्षमुनिका बच्चालाई लक्षित गरी किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम रहेको छ । ‘टुर दि ठाकुरद्वारा’मा सहभागी हुन आएका नेपाल र भारतका प्रतिनिधिलाई नेपालगञ्जमा बागेश्वरी मन्दिरको दर्शन, टाँगा सफारी, बाँके राष्ट्रिय निकुञ्जमा सफारी, रैथाने खाना खुवाउने, बर्दियामा थारु संस्कतिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

‘टुर दि ठाकुरद्वारा’मा साइकलयात्रासँगै पर्यटन, पर्यापर्यटन, वन्यजन्तु संरक्षण, धर्म र संस्कृतिको विषयमा छलफल समेत हुने क्लवका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम संयोजक सतिश निरौलाले बताए । ‘टुर दि ठाकुरद्वारा’को पहिलो र दोस्रो संस्करणमा दुई जना अष्ट्रेलियन नागरिकले पनि भाग लिएका थिए ।

Nabintech