२९ बैशाख २०८१, शनिबार
बाँकेमा शित लहर र हुस्सुका कारण जनजीवन प्रभावित

बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित


  • टाइम्स संवाददाता

  • २७ पुष २०८०, शुक्रबार १८:४६

नेपालगन्ज: बाँकेमा शित लहर र हुस्सुका कारण जनजीवन प्रभावित भएकाे छ । शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको हाे ।

चिसो अत्याधिक बढेको कारण बिहान र बेलुकी सडकमा सवारीसाधन र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालय सेवाग्राही र विद्यालयमा बालबालिकाको सङ्ख्या पनि घटेको छ ।

चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, वीपी चोक, बिरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको नेपालगन्जका नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धाहरुलाई पनि यसले निकै प्रभाव पारेको छ ।

चिसो बढ्दै गएकोले जिल्ला विपद् व्यवस्थापन समिति र नेपाली सेनाले केही ठाउँमा सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएको छ । स्थानीय सरकारहरुसँग पनि आ-आफ्नो पालिकामा सो व्यवस्था गर्न आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।

शितलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरुमध्य अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाई हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालका अनुसार पहाडी जिल्लाहरुसँगै संघिय राजधानी काठमाडौंका लागि पनि बिहान र बेलुका हुने हवाई उडान प्रभावित भएको बताउनुभयो ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझाका अनुसार गत चार दिनदेखि नेपालगन्जको तापक्रम घट्दै गएको छ । बिहिबार र शुक्रबार तापक्रम झनै घटेर ७.७ देखि ९ डिग्रि पुगेको सो कार्यालयले जनाएको छ ।

Nabintech