२० बैशाख २०८१, बिहीबार
गण्डकीको जितमा कोशी २५ रनमा अलआउट

  • टाइम्स संवाददाता

  • ७ माघ २०८०, आईतवार १८:३२

काठमाडौँ: गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि १ सय ४२ रनको फराकिलो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा गण्डकीका कप्तान विपिन खत्रीले अलराउन्ड प्रदर्शन गरेपछि कोशी २५ रनमा अलआउट भएको थियो ।

यससँगै पहिलो जित निकालेको गण्डकीले चार खेलबाट दुई अङ्क बनाएको छ । लगातार छैटौँ हार खेपेको कोशी अङ्कविहीन छ । जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा सबै विकेटको क्षतिमा २५ रनमा समेटिएको थियो ।

कोशीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीलाई सस्तैमा समेट्न गण्डकीका विपिनले सात ओभरमा तीन मेडनसहित मात्र चार रन खर्चिएर ६ विकेट लिनुभयो । सन्दीप पराजुलीले तीन तथा अङ्कित न्यौपानेले एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको गण्डकीले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक ६७ रन बनाउनुभयो।  विपिनले ४२ र कमल परियारले १३ रन जोड्नुभयो । बलिङमा कोशीका अभ्यास तिमिल्सिनाले ९.२ ओभरमा दुई मेडनसहित २३ रन खर्चिएर ६ विकेट लिनुभयो । फिर्दोश अन्सारी, कमल खत्री र सोनु मण्डलले एक एक विकेट झार्नुभयो

Nabintech