१२ श्रावण २०८१, शनिबार
स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पोे’

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८०, बुधबार ११:४९

सुर्खेत  : कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२ गतेसम्म कर्णाली एक्सपो हुनेभएको छ । महोत्सव अवधिभर प्याराग्लाइडिङदेखि घोडा सवारसम्मका गतिविधि हुने आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

फिनिकाँडाबाट वीरेन्द्रनगरसम्म प्याराग्लाइडिङ गर्न सकिने भन्दै आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले अन्य बेला लाग्ने शुल्कभन्दा पाँच सय छुट हुने जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन गर्न कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भिजिट कर्णाली प्रालिसँगको सहकार्यमा विशेष छुटमा कर्णालीका विभिन्न ठाउँमा घुम्न चाहने व्यक्तिलाई आरामदायी यात्राका साथ भ्रमण गराउने व्यवस्था गरिएको छ, यसले हाम्रो कर्णालीका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”

त्यसै गरी महोत्सवको मुख्यद्वारमा देउती बज्यैको मन्दिर झल्किने मूर्ति रहने छ भने मुख्यद्वारभन्दा भित्र काँक्रेबिहारको मुख्य मन्दिर र कर्णालीका पर्यटकीय स्थलको हातले बनाएको तस्बिर राखिने जनाइएको छ ।

Nabintech