२४ मंसिर २०८१, सोमबार
घरआँगनमै धानको मूल्य पाए किसानले

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०८१, शुक्रबार ०८:२१

गढवा–६ निवासी शिवनारायण तेली गाउँपालिकाले राम्रै भाउमा धान किन्छ रे भन्ने सुनेर बिहीबार धान संकलन केन्द्रमा पुग्नुभयो । थैलामा धान बोकेर परीक्षणका लागि संकलन केन्द्र सर्वोदय प्राविमा पुग्नुभएका तेलीको धान मेसिनमा हालेर गुणस्तर परिक्षण गरियो । प्रतिक्वीटल तीन हजार चार सय १० को मुल्य पाएपछि घरबाट टेक्टरमै धान लोड गरेर बिक्री केन्द्र पु¥याउनुभयो । बिक्री गरेको धानको पर्न आउने मूल्यको चेक पाउँदा हौसिदै घर फर्किनुभयो । सधै धान बचेर जीविकोपार्जन गरेको स्मरण गर्दै तेलीले यस वर्ष राम्रो भाउमा धान बेच्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘स्थानीय सरकारको पहलमा खाद्यले हामीजस्ता किसानहरुका लागि यो ।वर्ष निकै राम्रो काम गरेको छ’– उहाँले भन्नुभयो– ‘धान बेच्न बजार खोज्नु परेन–भाऊ पनि निकै राम्रो पाइयो ।’

गढवा–६ बनकट्टी निवासी देवराज यादवले सगोल परिवारको वर्षेनि झण्डै एक सय क्वीण्टलको हाराहारीमा धान बिक्री गर्नुहुन्छ । किसानले उत्पादन गरेको धानले कहिल्यै बजार भाउ राम्रो नपाएको उहाँ बताउनुहुन्छ । २६÷२७ सय रुपैयाँ प्रतिक्वीण्टल बेच्ने गरेको धान यस वर्ष तीन हजार चार सयमा बिक्री गर्न पाउँदा झण्डै ८० हजार मुनाफा मात्रै आएको उहाँ बताउनुहुन्छ । घरमै आएका ब्यापारीलाई बेचेको भए दुई लाख ६० हजार पर्ने धान स्थानीय सरकारको समन्वयमा तीन लाख ४० हजारमा बिक्री गर्न पाउँदा मेहनतको फल पाएको यादवले बताउनुभयो । धान दाउने बित्तिकै ब्यापारीहरु खेतमै पुग्ने र धेरै सस्तो मूल्यमा खरिद गर्ने गढवाको अवस्था थियो । जसले गर्दा किसानहरुको लगानी समेत राम्ररी नउठ्ने गरेको गढवाका किसानहरु बताउँछन् । स्थानीय सरकारले खाद्य ब्यवस्था कार्यालयसँग सम्झौता गरेर नेपाल सरकारले तोकेको दररेटमा धान बिक्री गर्न सहजीकरण गरेकोमा यहाँका किसानहरु खुशी भएको पाइएको छ ।

गढवा गाउँपालिकाभरको धान बिक्री गर्न भनी स्थानीय सरकारको पहलमा गढवा–६ स्थित सर्वोदय प्राविको प्रांगणमा संकलन केन्द्र स्थापना गरी बुधबारदेखि किसानहरुले ल्याएको धानको गुणस्तर जाँच गर्दै खरिद गर्ने कार्य भइरहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । गढवा गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि। तुलसीपुर बीच गढवाका किसानहरुको १८ हजार क्वीण्टल धान खरिद गर्ने र सो को नेपाल सरकारले तोकेको दररेट उपलब्ध गराउने गरी द्विपक्षीय सम्झौता भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । किसानहरुले उत्पादन गर्ने गरेका कृषि उपजहरुले उचित बजारभाउ नपाउने गरेको समस्या चारैतिरबाट आएपछि कृषि उपज संकलन र बजारीकरणको कार्यविधि नै तयार गरी गाउँपालिकाले यो अभियान शुरुवात गरेको अध्यक्ष पोखे्रलले बताउनुभयो । यसपालि अलि ढिला भयो आगामी वर्षमा किसानहरुको बाली नपाक्दै सम्झौता गरेर बिक्रीवितरणका लागि संकलन तथा बिक्री केन्द्र सुचारु गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । यसवर्ष पालिकाभरका किसानहरुको १८ हजार क्वीण्टल धान बिक्रीबाट किसानहरुलाई एक करोड ४५ लाख प्रत्यक्ष नाफा निस्कने अध्यक्ष पोख्रेलले बताउनुभयो ।

लुम्बिनी प्रदेशमै पहिलो पल्ट दाङको गढवा गाउँपालिकाबाट कृषि उपज खरिद गर्ने कार्य शुरुवात गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । नेपाल सरकारले तोकेको दररेट मोटो धानको मूल्य प्रतिक्वीण्टल तीन हजार चार सय १० र मसिनो धानको प्रतिक्वीण्टल तीन हजार पाँच सय ८० रहेको छ । सोही बमोजिम मोटा धान खरिद कार्य शुरु गरिएको खाद्य ब्यवस्था कार्यालयले जनाएको छ । किसानहरुले ल्याएको धान मसिन मार्फत् गुणस्तर परीक्षण गरिन्छ । मापदण्ड बमोजिम १८ प्रतिशत भन्दा चिसोपना कम हुनुपर्ने, २ प्रतिशत भन्दा बाह्य पदार्थको मिश्रण हुन नहुने, ५ प्रतिशत भन्दा बढी टुक्रेको वा मिश्रण भएको हुन नहुने तथा नभिजेको, सफा, किरा र ढुसी नलागेको, पोपटा र भुस कम भएको धान हुनुपर्ने सोही बमोजिमको गुणस्तर पहिचान गरी सरकारी दररेटमा मोटा धान खरिद गरिएको खाद्य ब्यवस्था कार्यालयका प्राविधिक तथा गुणस्तर अधिकृत रोशन श्रेष्ठले बताउनुभयो ।

धान बिक्री गर्ने किसानहरुले आफ्नो धान संकलन केन्द्रसम्म आफै ढुवानी गर्नुपर्ने, जग्गा धनीको प्रमाणपूर्जा र नेपाली नागरिकताको प्रतिलिपी तथा स्थानीय सरकारको सिफारिस उपलब्ध गराउनुपर्ने नियम रहेको कार्यालय प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । स्थानीय सरकारसँग भएको सम्झौता बमोजिम एकजना किसानबाट ४० क्वीण्टलको दरले १८ हजार क्वीण्टलसम्म खरिद गरिने र लक्ष्य पुरा नहुँदासम्म संकलन केन्द्र खुल्लै रहने गढवा गाउँपालिकाका कृषि शाखाप्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो ।

Nabintech