३ असार २०८२, मंगलवार
नमुना अग्र्यानिक गाउँ– लेक हात्तीखाल

  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८२, सोमबार १७:०९

सनत सापकोटा

छिन्चु  :  स–सानो उपत्यका जहाँ छरिएर रहेका केही घरहरू छन् । प्रायः सबै घर एकै किसिमका छन् । यहाँ विभिन्न जातिको मिश्रित बसोबास छ । सुर्खेत जिल्लाको एउटा कुनामा अवस्थित यो गाउँ बाहिरी दुनियाँसँग खासै सम्पर्कमा छैन ।
हो, भेरीगंगा नगरपालिका–५ को लेक हात्तीखालको संसार अन्य गाउँहरूको भन्दा फरक छ । वरिपरि डाँडाकाँडाले घेरिएको यो सानो उपत्यका फरक भूगोलमा मात्र छैन, फरक पहिचानका साथ बाँचिरहेको छ ।
यस गाउँका आफ्नै रीतिथिति र परम्परा छन् । यो गाउँ एउटा अग्र्यानिक बस्तीका रूपमा विकास भइरहेको छ । खेतिपाती र पशुपालन यहाँको प्रमुख पेसाका रूपमा रहेको छ । तर त्यो विशुद्ध अग्र्यानिक किसिमले । यो गाउँमा एउटा थिति नै बाँधिएको छ, त्यो हो, कृषि उत्पादनमा विषादी र रासायनिक मलको प्रयोग गर्न नपाइने । यो नियमलाई कडाइका साथ पालना गरेको छ सम्पूर्ण गाउँले ।
‘खेतिपातीमा रासायनिक मल र विषादीहरूको अत्यधिक प्रयोग बढिरहँदा पनि हामीले यो गाउँमा यस्ता कुरा भित्रिन दिएका छैनौँ,’ भेरी गंगा नगरपालिकाका जनप्रतिनिधिसमेत रहेका लेक हात्तीखालका स्थानीय बासिन्दा गोरख खड्का भन्छन्, ‘यहाँका हरेक उत्पादन विशुद्ध अग्र्यानिक हुन्छन् ।’
पाँच वर्षअघिदेखि नै यो गाउँ अग्र्यानिक गाउँका रूपमा सर्टिफाइड भइसकेको छ । भेरीगंगा नगरपालिका र कर्णाली प्रदेश कृषि निर्देशनालयले यो गाउँलाई अग्र्यानिक गाउँका रूपमा घोषणा गरिसकेका छन् । त्यसैअनुरूप गाउँलेहरूले पनि अग्र्यानिक कृषि उत्पादन गर्दै आएका छन् ।


अग्र्यानिक उत्पादनका लागि गाउँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाउँदै गएको छ । अग्र्यानिक हुने भएकैले यहाँका कृषि उत्पादनको माग छिमेकी गाउँ तथा बजारहरूबाट समेत हुन थालेको छ ।
‘प्याकेजिङ गरेर लोगो नै राख्न सक्ने अवस्था त अझै आएको छैन तर पनि यहाँका अग्र्यानिक कृषि उत्पादनबारे प्रचारप्रसार भइरहेको छ,’ खड्का भन्छन्, ‘त्यसैले छिमेकी गाउँ वा बजारहरूबाट यहाँको कृषि उत्पादनको माग बढिरहेको छ ।’ राज्यले लोगोसहितको प्याकेजिङको व्यवस्था गरेर यहाँको अग्र्यानिक उत्पादनलाई सहजै बजारसम्म पुग्ने वातावरण सिर्जना गरिदिनुपर्ने खड्काको माग छ ।
गाउँलेहरूलाई अग्र्यानिक खेतीमा प्रोत्साहन गर्न ‘द अग्र्यानिक भ्याली’ नामक कम्पनीले पनि मद्दत गरिरहेको छ । गाउँलेहरूसँग सम्झौता नै गरेर यहाँ उत्पादन भएका कृषि उत्पादन विशेष गरेर मसला बाली (अदुवा र बेसार) कम्पनीले नै खरिद गरिदिने गरेको छ । यो गाउँका ७४ घरपरिवारले पनि खेतिपातीमा रासायनिक मल र विषादी प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । गाउँलेहरूबाट खरिद गरेको अदुवा र बेसार प्रशोधन गरेर कम्पनीले युरोपका विभिन्न स्थानमा निर्यात गर्दै आएको छ ।
मसला बाली मात्र होइन, यहाँ सबै किसिमका अन्नबाली उत्पादन हुने गरेको छ । हाम्रा प्रमुख खाद्य बाली धान, गहुँ, मकैलगायत नगदेबालीहरूसमेत प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ । वरिपरिका सामुदायिक वनका सोत्तर र जैविक मलबाट गाउँलेहरूले प्रशस्त उत्पादन लिने गरेका छन् ।

 
निकै पुरानो बस्ती भए पनि विगतका वर्षमा यो गाउँबारे कसैलाई त्यति चासो थिएन । त्यस्तो अनकन्टार ठाउँमा बस्ती होला भन्ने कुरामा नै कतिपयलाई भ्रम रहेछ । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काले चुनाव प्रचारप्रसारताका एकपटक भनेका रहेछन्, ‘यसभन्दा पर पनि बस्ती छ र !’ आफ्नै चुनाव क्षेत्रमा कहाँकहाँ बस्ती छन् भन्ने कुरामा माननीय नै अनभिज्ञ रहेछन् ।
जब सरकारले यही गाउँको शिरमा रहेको गिद्देडाँडालाई नेपालका सय पर्यटकीय गन्तव्य सूचीभित्र समावेश ग¥यो तब मात्र यस गाउँको केही प्रचारप्रसार हुनथाल्यो । यही गाउँबाट करिब डेढ घन्टाको उकालो हिँडाइपछि गिद्देडाँडा धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न सकिन्छ । जहाँबाट बाँके, बर्दिया, सुर्खेत, सल्यान र दाङका विभिन्न स्थानहरूको अवलोकन गर्दै प्राकृतिक आनन्द प्राप्त गर्न सकिन्छ । गिद्देडाँडामा गुराँस फुलेको समेत देख्न सकिन्छ । निरन्तर चिसो हावा चलिरहने गिद्देडाँडामा धार्मिक पर्यटकलाई आकर्षित गर्न सिद्धबाबाको मन्दिरसमेत निर्माण गरिएको छ । ठाडो उकालो भएकाले डाँडासम्म पुग्नका लागि सिँढी निर्माण गरिएको छ । त्यसैगरी पर्यटकहरूका लागि बास बस्नका लागि अतिथि गृह तथा विश्राम गृहसमेत निर्माण गरिएको छ ।
संघीय सरकारको बजेटमा पर्यटन पूर्वाधारका लागि केही काम भए पनि प्रदेश सरकारको यसतर्फ कुनै ध्यान नदिएको खड्काको गुनासो छ । ‘हामीले प्रदेश सरकारसम्म पनि कुरा पु¥याएका छौँ,’ खड्का भन्छन्, ‘हेरौँ भविष्यमा केही सहयोग हुन्छ कि !’
संघीय सरकारले गिद्देडाँडालाई पर्यटकीय गन्तव्य स्थल घोषणा गरेर केही रकम विनियोजन गरे पनि अझै यसको प्रचारप्रसार र विकास पर्याप्त हुन सकेको छैन ।
गिद्देडाँडामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने हो भने लेक हात्तीखालका प्रत्येक घरमा घरबासको व्यवस्था गरेर पर्यटकलाई अग्र्यानिक खानाको स्वाद चखाउन सकिने खड्काको भनाइ छ ।
प्राकृतिक रूपमा पनि यो गाउँ अद्वितीय छ । डाँडाबाट झरेको मूलको चिसो पानी बस्तीमा निरन्तर बगिरहेको छ । वरिपरि डाँडाकाँडाको हरियाली कायम छ । जताततै मसलाको रूपमा प्रयोग हुने दालचिनीका रूखहरू देख्न सकिन्छ ।
किसानहरू खेतिपाती र पशुपालनमा दत्तचित्त भेटिन्छन् । अग्र्यानिक केरा खेती, घरघरमा मौरीका घारलगायतका दृश्य देख्न सकिन्छ । चैत वैशाखको खडेरीमा पनि यहाँको चिसो हावापानीले मनै लोभ्याउँछ ।
रत्न राजमार्गको काली दमारबाट तल झरेर तोलिखोला किनारैकिनार अघि बढेर लामितडा, फर्सेनी, सानो फर्सेनी, सिरेनी, सानो हात्तीखाल हुँदै लेक हात्तीखाल पुग्न सकिन्छ । करिब दुई घन्टाको तेर्सो उकालो हिँडेपछि यो गाउँ आउँछ । सडकको ट्रयाक गाउँसम्मै पुगे पनि सडक राम्रो नभएका कारण यहाँसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा छैनन् ।
गिद्देडाँडा धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार र विकास गर्न सक्ने हो भने यो पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने कुरामा दुईमत छैन । साथै लेक हात्तीखालको अग्र्यानिक खानाको स्वाद देश विदेशमा पु¥याउन सकिने कुरामा पनि दुईमत नहोला ।

 

 

Nabintech