११ मंसिर २०८१, मंगलवार
कोहलपुर नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

नगरकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा


  • टाइम्स संवाददाता

  • २९ माघ २०७९, आईतवार २१:४०

 कोहलपुर : कोहलपुर नगरपालिकाले स्वीकृत कार्यक्रमअनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सहायक स्तर पाँचौं तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

१० प्लस २ (१२) कक्षा उत्तीर्ण भएकालाई लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बताइन् । लोकसेवा अध्ययन गरिरहेकाहरूलाई थप सजिलो गराउन र उत्साह प्रदान गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘कोहलपुरका धेरै युवायुवतीहरूले लोकसेवा आयोग अध्ययन गरिराख्नुभएको छ,’ उनले भनिन्, ‘उहाँहरूको प्रयासलाई नगरपालिकाले पनि सहयोगका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।’

नगरकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ । नगरको उक्त कार्यको लोकसेवा तयारी गरिरहेकाहरू खुशी भएका छन् ।

यसमा दलित, महिला, स्थानीय र आर्थिकरुपमा विपन्नता भएकालाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । कोहलपुरका सबै वडालाई यसमा सहभागी बनाइने उपप्रमुख सुवेदीले बताइन् ।

Nabintech