२१ बैशाख २०८१, शुक्रबार
गैँडाको चोरी सिकार रोक्न अध्ययन टोली गठन

पछिल्लो तथ्याङ्कअनुसार यस निकुञ्जमा छ सय ९४ वटा गैँडा रहेका छन


  • रासस 

  • २७ माघ २०७९, शुक्रबार ०८:००

चितवन: चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकारीले गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन गर्न टोली गठन गरेको छ । अध्ययन सुरु गरेको एक महिनामा प्रतिवेदन बुझाउने गरी विभागले अध्ययन टोली पठाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

अध्ययन टोलीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा नरेश सुवेदी, जेड एसएल नेपालका कार्यक्रम संयोजक विष्णु थपलिया, विश्व वन्यजन्तु कोषको वन्यजन्तु अपराध नियन्त्रण शाखाका प्रमुख माधव खड्का र सदस्य सचिवमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक अनुसन्धान अधिकृत रुपक महर्जन रहनुभएको छ । केही समयअघि चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत भुताहा क्षेत्रमा सिकारीले विद्युतीय तारको प्रयोग गरी गैँडा मारेसँगै अध्ययनका लागि टोली गठन गरिएको हो ।

गैँडाको बासस्थान, संरक्षणका चुनौतीलगायतका विषयमा टोलीले अध्ययन गर्नेछ । यसअघिसम्म चोरी सिकारीले विद्युतीय तारको प्रयोग गरेर गैँडा मारेका थिएनन् । टोलीले अध्ययनपछि चितवन राष्ट्रिय निकुञ्जमा अहिले भइरहेको समग्र संरक्षण र सुरक्षा व्यवस्था, चोरी सिकार प्रतिरोध एकाइको प्रभावकारिता र सुराकी सञ्जालको अवस्था, संरक्षणमा समुदायको भूमिका र परिचालनको अवस्था, वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रयोगमा ल्याइएको प्रविधिको अवस्था, वन्यजन्तु संरक्षणमा अन्य सरोकारवाला निकायको सहभागिता बढाउन गर्नुपर्ने कार्यसम्बन्धी रायसहितको सुझाव पेस गर्नेछ ।

यस्तै टोलीले आउँदाे दिनमा चोरी सिकारीका घटना दोहोरिन नदिन अत्यावश्यक कार्यको पहिचानसमेत गरेर सुझाव विभागमा पेस गर्नेछ । अहिले टोलीले स्थलगत अध्ययनको काम गरिरहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

टोलीले दिएको प्रतिवेदनका आधारमा निकुञ्ज विभाग र चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा आफ्नो रणनीति बनाउने तिवारीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १२ वटा गैँडा मरेका छन् । तीमध्ये दुई वटा चोरी सिकारीले मारेका हुन् भने १० वटा कालगतिले मरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यस निकुञ्जमा छ सय ९४ वटा गैँडा रहेका छन् ।

Nabintech