२४ बैशाख २०८१, सोमबार
मेहनत र संघर्षले थारु हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा फैलाउने ‘निरु’

विदेशसम्म पुग्छ हस्तकलाका सामग्री


  • टाइम्स संवाददाता

  • ४ जेष्ठ २०८०, बिहीबार ०६:५५

बाँके: सम्बत् २०५९ साल  माओवादी युद्ध उत्कर्षमा थियो । युद्ध सफल बनाउन जुनसुकै हर्कत गर्न माओवादी तयार थियो । त्यहिबेला माओवादी कार्यकर्ताले साविक हेकुली गाविस १, बैबाङस्थित हिमालय बोर्डिङ स्कुल पनि बन्द गराए । अनि दंगीशरण गाउँपालिका ४, बैबाङकी निरु चौधरी आफ्ना छोराछोरीलाई पढाउन काठ्माडौँ पुगिन् । जागिरीको शिलशिलामा उनका पति काठ्माडौँमै थिए ।
उनी काठ्माडौँ गएर भान्साको काममा सिमित भइनन् । पतिको कमाईले छोराछोरी पढाउन, कोठा भाडा तिर्न र खान, लाउन समस्या भएपछि कुनै काम गर्ने योजना बनाइन् उनले, तर काठ्माडौँमा काम पाउन सजिलो थिएन । उनले उपाय खोजिन् । आफ्नो बारेमा घरबेटी दिदिलाई सुनाइन् । अनि निक्ल्यो उपाय ।
घरबेटी दिदिको सल्लाह बमोजिम उनले ऊलनको काम गर्न थालिन् । उद्योगले दिएको अर्डर अनुसार उनले विभिन्न थरिका ऊलनका सामग्री डेरा घरको कोठामा बनाउन थालिन् । ‘घरबेटी दिदिले पनि ऊलनको काम गर्नु हुन्थ्यो । पहिलो पटक उहाँसँग उद्योगमा गए । दुई–तिन पटक उहाँसँग गएँ । त्यसपछि अर्डर लिन र पुर्याउन म आफै जान सक्ने भएँ,’ उनले भनिन् ।
उनले करिव एक बर्षसम्म ऊलनबाट विभिन्न थरिका सामग्री निर्माण गरिन् । उनको पतिको नेपालगन्ज सरुवा भएपछि उनी पनि नेपालगन्ज आइन् । नेपालगन्जमा पनि उनी खाली हात बसिनन् । तर, काठ्माडौँमा गरेको काम नेपालगन्जमा पाउन मुस्किल थियो । तै पनि उनले विभिन्न थरिका स्विटर बुनेर समयको सदुपयोग गर्दै थिइन् । संयोगले त्यहिबेला सेसी नेपाल र वल्र्ड भ्यू नेपालले थारु कलामा आधारित गुन्द्री बुनाई तालिम आयोजना गरे ।
उनी उक्त तालिममा सहभागी हुन दाङको लमही गइन् । उक्त तालिम उनले पहिलेदेखि बुन्दै आएको थारु हस्तकलामा आधारित गुन्द्री बुनाई थियो, तर आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न सिकाउने भएकोले उनका लागि तालिम च्यूरामा फलाम चपाए सरह गाह्रो भयो । ‘तालिम लिने बेला नजानेर रोएँ । सिक्न सकिन्न की जस्तो लाग्यो । हरेस खाएँ । पतिलाई फोन गरेर तालिममा पाएको दुख सुनाए । उहाँले गाह्रो छ भने घर आइहाल भन्नु भयो, तर मैले जसरी पनि सिक्छु, घर जान्न भन्ने अठोट गरँे । कडा मेहनत गरेर सीप सिकेँ र नेपालगन्ज फर्किए,’ उनले भनिन् ।
तालिम लिएपछि उनले थारु हस्तकलालाई ब्यवसाय बनाएकी छन् । हस्तकलालाई ब्यवसाय बनाउन उनको अगुवाईमा पाँच जना थारु महिला मिलेर पञ्चशील हस्तकला केन्द्र स्थापना गरेका छन् । उक्त संस्था घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा दर्ता छ । संस्था दर्ता गरेपछि ब्यवसाय संचालन गर्न झनै सजिलो भएको उनले सुनाइन् । पाँच जना थारु महिला मिलेर साझेदारी संस्था दर्ता गरेका छौँ । यसले हामीलाई तालिम दिन, लिन र सरकारी निकायबाट सेवा, सुविधा लिन तथा मेला, महोत्सवमा जान सहयोग मिलेको छ,’ उनले भनिन् ।

हस्तकला ब्यवसायले दिलायो पुरस्कार र सम्मान
उनको संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला, महोत्वसमा सहभागी भई पुरस्कार समेत जितेको छ । काठ्माडौँमा आयोजना हुने अधिकांश हस्तकलाका मेला, महोत्सवमा उनको संस्थालाई निम्तो आउँछ । उनले ५० हजार राशीको ‘स्ट्यान्डर्ड चार्टर्ड न्यूविज विजनेश ओमेन समिट एण्ड अवार्ड–२०२२’ अन्तरगत लुम्विनी प्रदेशको ‘उत्कृष्ट उद्यमी महिला’ को उपाधि पाइसकेकी छन् । ‘नेपाल सरकार उद्योग मन्त्रालय र विभिन्न सरकारी संस्थाबाट १०–२० हजार रुपैँयाका थुप्रै पुरस्कार तथा सम्मान पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।
उनले नेपालगन्ज उद्योग बाणिज्य संघबाट उत्कृष्ट महिला उद्यमी, उद्यमी महिला संघ बाँके लगायत विभिन्न संस्थाबाट उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान पाएकी छन् । ‘पुरस्कार र सम्मानले काम गर्ने थप हौसला मिलेको छ,’ निरुले भनिन् ।
हस्तकलाको कामले उनलाई विभिन्न सरकारी, गैरसरकारी संस्थासँग काम गर्ने अवसर पनि दिएको छ । उनी उद्यमी महिला संघ बाँकेको कार्यसमिति सदस्य र नेपालगन्जस्थित कोशेली घर संचालक समिति सदस्य समेत हुन् । मेरो कामले मलाई धेरै ठाउँ घुम्ने अवसर दिएको छ । विभिन्न संघ, संगठनमा जोडिने मौका पनि मिलेको छ । यो ब्यवसायले देश, विदेश चिन्ने र चिनाउने अवसर मिलेको छ,’ उनले भनिन् ।
निरु हस्तकला ब्यवसायमा सिमित छैनिन् । उनी थारु हस्तकलाको प्रशिक्षक पनि हुन् । उनले दाङ, बाँके, बर्दिया र कैलालीका धेरै महिलालाई हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाएकी छन् । सरकारी तथा गैरसरकारी संस्थाले ग्रामिण भेगका महिलालाई तालिम दिन बोलाउने गरेको उनले सुनाइन् । ‘वर्षमा तिन–चार ठाउँमा हस्तकला सम्बन्धि तालिम दिन जान्छु,’ उनले भनिन्, ‘एक्लै नसकेर संस्थाका अरुलाई पनि पालो दिनुपर्ने हुन्छ ।’

हस्तकलाका सामग्री पुर्याउन मुस्किल
उनलाई हस्तकलाका सामग्री पुर्याउन हम्मेहम्मे परेको छ । अर्डरको सामान पुर्याउन उनी हरेक दिन विहान ४ बजे उठ्छिन् । हातमुख नधोएरै उनी हस्तकलाका सामग्री बनाउन थाल्छिन् । विहान ६ बजेतिर दैनिक नित्यकर्म गरेर चिया खाईवरी उनी फेरि आफ्नो काम सुरु गर्छिन् । उनको यो दैनिकी बेलुकी ९ बजेसम्म चल्छ । ‘माग अनुसारको सामान पुर्याउन दिनरात बराबर काम गर्नु पर्छ,’ उनले भनिन्, ‘तै पनि सामान पुर्याउन सकिएको छैन ।’
ब्यवसायले थारु हस्तकलाको संरक्षण सँगै आयआर्जन गर्ने राम्रो माध्ययम बनेको उनी बताउँछिन् । जंगलबाट कुश अर्थात् खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रकी अध्यक्षसमेत रहेकी हस्तकला उद्यमी निरु चौधरीले बताइन् । उनले भनिन्, ‘थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको कुरा सुन्न परेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।’
उत्पादन गर्न लागेको समयको आधारमा सामानको मूल्य तोक्ने गरेको हस्तकला उद्यमी उनले बताइन् । उनका अनुसार थारु महिलाले २०–तिन हजार रुपैँयासम्मको सामान उत्पादन गर्दै आएका छन् ।

हस्तकलाबाट मनग्य आम्दानी
उनको उद्योगमा थप चार जना उद्यमी महिला सदस्य छन् । ति महिलाले उनलाई सघाउँछन् । एकलैले थारु हस्तकलाका सामान पुर्याउन नसक्ने भएपछि अन्य उद्यमी महिलालाई सदस्य बनाएको उनले बताइन् । ‘उद्योगका सवै महिलाले जिम्मेवारी बाँडफाड गरेका छौँ । आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्छौँ,’ सचिव मनु चौधरीले भनिन् ।
हस्तकला ब्यवसाय सुरु गरेपछि पतिसँग पैँसा माग्न नपरेको उनले बताइन् । ब्यवसायले हस्तकला ब्यवसायबाट राम्रो आम्दानी भइरहेका बताइन् । थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उद्यमी मनुले बताइन् । उनले व्यवसायबाट सन्तुष्ट भएको बताइन् । थारु हस्तकला उत्पादन सम्बन्धी तीन महिने तालिम लिएर व्यवसाय सुरु गरेकी उनले भनिन्, ‘एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न सहयोग भएको छ । अर्कोतर्फ व्यवसायबाट राम्रो आम्दानी भएको छ ।’
उनले घरमै बसेर मासिक कम्तिमा रु. २५ हजारसम्म आम्दानी गरिरहेकी छन् । मागअनुसार सामग्री पुर्याउन नसकेको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ । माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै केन्द्रकी सचिव समेत रहेकी मनुले भनिन्, ‘अर्डर थुप्रै आउँछ । उत्पादन गर्न समय लाग्छ । माग अनुसार उत्पादन गर्न सकिरहेका छैनौँ । आलोपालो गरेर ग्राहकलाई सामान दिन्छौँ ।’
हस्तकलाको व्यवसाय सुरु नगर्दै फुर्सदिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उनको भनाइ छ । ‘टिभी हेरेर र साथीसंगीसँग गफगाफ गरेर दिन बित्थ्यो, अहिले एकछिन पनि फुर्सद हुँदैन,’ उनले भनिन् ।
नेपालगन्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाएकी छन् । पञ्चशील हस्तकला केन्द्रकी सदस्य समेत रहेकी उनले घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताइन् । उनले पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रे लगायतका सामान उत्पादन गरेर बजारमा पठाउँदै आएको बताइन् ।

विदेशसम्म पुग्छ हस्तकलाका सामग्री
थारु हस्तकलाका सामग्री नेपालगन्ज, काठमाडौं, पोखरा, बुटवल, अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्क जस्ता देशमा जाने गरेको छ । ‘केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौंमै खपत हुन्छ,’ केन्द्रकी अध्यक्ष निरुले भनिन् । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनले बताइन् । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ,’ अध्यक्ष निरुले भनिन् ।

हस्तकलाका सामग्री वातावरणमैत्री
थारु महिलाले उत्पादन गरेका सामान वातावरणमैत्री समेत छन् । सड्ने, गल्ने भएकोले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र सहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ । नेपालगन्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ । नेपालगन्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीहरु थारु हस्तकलाको सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन् । ‘नेपालगन्जमा उपहारको रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगन्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छौँ,’ नेपालगन्जका व्यवसायी सञ्जय थापाले भने ।

गोचालि खबरबाट
Nabintech