१९ बैशाख २०८१, बुधबार
अमिलियामा अलमलिएको भविस्य !

  • प्रेम शर्मा

  • २ श्रावण २०८०, मंगलवार १२:४२

लुम्बिनी प्रदेशको दाङ जिल्ला लमही नगरपालिकाको सबै भन्दा पश्चिममा छ अमिलिया गाउँ । अमिलियाको बायाँ हुँदै  हुइकिन्छन हजारौं गाडीहरू । आलिङ्गन गरिरहेको  छ महेन्द्र राजमार्ग । दायाँ तिर अविरल  बगिरहेको छ सुशान्त अचिरावती । अचिरावती राप्ती नदीको पौराणिक नाम हो । दुईवटा महत्त्वपूर्ण पुर्वाधारको बिचमा निन्नयाउरो अनुहारले बसेको छ बस्ती । दलित, कुमाल, थारु , क्षेत्री, ब्राह्मण यहाँका प्रमुख बासिन्दा हुन। गाउँको छेउमै उभिएको छ श्री मा. वि. अमिलिया
म दाङकै राजपुरको एक विद्यालय बाट सरुवा भएर मा. वि. अमिलियामा आए। ७९ सालको फागुन २५ को दिन थियो । विद्यालयको अफिसको भित्तामा टासिंएको विद्यालयमा अध्ययनरत बालबालिकाको तथ्यांक हेरे जम्मा सङ्ख्या १६०जना। कस्तो अचम्म ! मेरो पुर्ब विद्यालयमा २१६ जना विधार्थी त एउटै कक्षामा थिए । जीवनमा जुन जुन विद्यालय पढाइयो विद्यार्थी संख्या मनग्ये थियो । चैतमा बार्षिक परीक्षा भयो । परिणाम आयो ।
शैक्षिकसत्र २०८० को भर्न खुल्यो । भर्न अभियानमा गाउँटोल घुम्ने मौका पाइयो ।कयौं कारुणिक दृश्यले सोच्न बाध्य बनायो के संविधानको धारामा मौलिक हक लेख्दैमा  जनजीवन वास्तविक रुपमै उकासिन्छ त ? अह यो  नहुने रहेछ । देशमा ठुला ठुला राजनीतिक परिवर्तन भए , सत्ता फेरिए, सरकार फेरिए। नयाँ नयाँ बाचा सहित नयाँ नयाँ मान्छे सत्तामा आए, शक्तिमा आए। तर ती बस्तीको कारुणिक कथा फेरिएनन । घरदैलोका क्रममा देखिएका केही प्रतिनिधिमुलक दृश्य पस्कने जमर्को गरेको छु।
दृश्य न १. विद्यालय देखि लगभग दुई किलोमीटरको दुरीमा पर्छ हाट्बास टोल। जम्माजम्मी २५ घरधुरी भएको यस टोलका बालबालिका अध्ययनका लागि मा. बि. अमिलियामा आउने गर्छ्न तर स्कुल आउन झन्डै दुई घण्टाको बाटो छिचोल्दै । तपाईंलाई लाग्ला  दुई किलोमीटरको दुरी पारगर्न दुई घण्टा कसरी लाग्छ? स्कुल र त्यो बस्तीको बीचमा राप्ती नदी छ । दुई बस्ती जोड्ने पुल छैन। बस्तीको झन्डै चार किलोमीटर पश्चिम्मा एउटा झोलुङ्गे पुल छ । चार किलोमिटर पश्चिम गएर पुन त्यत्तिकै दुरीमा पुर्ब आउँदा आठ किलोमीटर दुरी हुन आउँछ। के यो देशमा सरकार छ ? एउटा झोलुङ्गे पुल बनाउन नसक्ने सरकार के सरकार ? त्यसै टोलको अर्को दृश्यले झन मन कुडिएर आयो। कवर थरका दुई बालबालिका बस्ने घरमा पुगियो । मैले सोधे बाबू बुबा – आमा कहाँ हुनुहुन्छ ? झन्डै १२/१३ बर्ष जत्तिकै देखिने एक बालकले भन्यो बुबा आमा त इन्डिया कामगर्न गएका छन । तपाईंहरु को सग बस्नुहुन्छ त बाबू। हामी दुई भाइ बस्छौ। म अनि मेरो भाई । हे सरकार तिमीले रोजगारीका अवसर गाउँमै सृजना गरिदिएको भए यी अबोध बालक आमा- बुबाको न्यानो काख बाट टाढा हुने थिएनन् ।
दृश्य न २: श्री मा. बि. अमिलियाको झन्डै चार किलोमीटर पुर्बदक्षिण स्याले भन्ने टोल छ। त्यो टोलमा जम्माजम्मी १५ घर जति माझी समुदायका मानिसहरू बसोबास गर्छन् । मेरा सहकर्मी साथीहरूले एकजना छात्रा कक्षा दशमा पढ्दापढ्दै स्कुल छाडेको प्रसङ्ग सुनाउनु भएको थियो । हामी उनकै घरमा गएर सम्झाईबुझाई  पुन स्कुल ल्याउने योजनाले त्यहीँ पुगिउ। उनकी आमाको भर्खरै देहावसान भएको रहेछ । बुबा बिरामीले थला परेर  खाटमा पल्टीरहनु भएको रहेछ। अनि हामीले सम्झाउदै भन्यौ नानीलाई स्कुल पठाउनु पर्यो , हामी नानीलाई स्कुल लिन आएको। उनले भने म सग पैसानै छैन कसरी स्कुल पठाउनु मास्टर साब ? पढाइ त निशुल्क हुन्छ नि । हामी नानीलाई अतिरिक्त कक्षा शुल्क पनि लिदैनौ । कपी कलम पनि हामी सरहरु मिलेर ब्यबस्था गरिदिन्छौ । उनको जबाफले म नजबाफ भए। नानीले घरधन्दा नधाने परिवार भोकै मर्छ मास्टर साब। उनको घर अगाडीको पाखोवारि हेरे त्यो भन्दा मुनितिर बगिरहेको राप्ती नदी हेरे । युरोपेली, अमेरिकी वा एसिया कै जापान, कोरिया भैदिएको भए सहायत यो शान्त नदिले काकाकुल बारीलाई जिस्काइरहेको हुन्नथ्यो होला । परिवारको सम्पूर्ण अविभारा एउटा स्कुले केटीको काधमा हुन्नथ्यो होला ।
दृश्य न ३: श्री मा. बि. अमिलियाको झन्डै तीन किलोमिटर पुर्बमा हात्तीखाल भन्ने एउटा टोल छ। हामी सहकर्मी साथीहरू बैशाखको शुरूवातको एका बिहानै घरदैलोका लागि हात्तीखाल निस्कियौ। त्यस टोलको प्राय विद्यार्थी अनुपस्थित हुने र त्यस मध्ये पनि कक्षा सातमा पर्ने एक कुमाल थरको छात्र धेरैनै अनुपस्थित हुनेगरेको जानकारी थियो । मैले सहकर्मी साथीहरूलाई त्यो दिन सर्बप्रथम त्यही छात्रको घरमा जान प्रस्ताव गरे । सबैको सहमतिमा हामी निज छात्रको घरमा गयौं । पारिवारिक अवस्था देखेर म अवाक भए। परिवारको कुनै जग्गा जमिन रहेनछ । राप्ती नदीमा माछा मारेर बिक्री गरेको पैसाले परिवार पाल्नुपर्ने जिम्मेवारी त्यो छात्रको काधमा रहेछ। नेपालको वर्तमान संविधानले सबै बालबालिकाहरुलाई माध्यमिक तह सम्म निसुल्क र अनिवार्य शिक्षाको ब्यबस्था गरेको छ। के त्यो ब्यबस्थाले यस्तै कयौं छात्रछात्राहरुको शिक्षा पाउने अधिकार सुरक्षीत गर्न सक्छ त ?
दृश्य न ४:  भर्ना अबियान सकियो । विद्यालय भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुको ब्यक्तिगत विवरण तयार भयो । जब सम्पूर्ण विधार्थीहरुको समस्टीगत विवरण हेरे मन अमिलो भयो । विद्यालयमा भर्ना भएका जम्मा विद्यार्थी मध्ये एक्काईस जना बालबालिका आमा-बाबू बिहिन रहेछन् । सोचे ती बालबालिकाको कोमल मनमा के विचार आउँदो हो। कुनै कबिले लेखेको चिम्नी स्वीपर भन्ने कविता सम्झिए ।
यिनी त प्रतिनिधि मुलक दृश्य हुन। यहाँका बहुसंख्यक जनता गरिबीको रेखामुनि छ्न । उनीहरूको दिनचर्या दुई छाकको जोहो गर्दैमा बित्छ ।त्यो गरिबीको गह्रौ भारीले ती कोमल बालमनोविज्ञानमा कति असर पार्दो हो। एउटा भरपर्दो रोजगारी छैन । प्रसस्त कृषि योग्य जमिन छैन ।भएको जमिनमा कृषि गर्न आकाशे पानीको भरोसा ।
म यसै सानो लेखबाट आह्वान गर्न चाहान्छु । राज्यले न्यायीक आखाले हेर्देवस। बालबालिकाको क्षेत्रमा कामगर्ने संघसङ्स्थाले हेर्दिउन । मानव सेवामा समर्पित हुने समाजसेवीले सुनिदिउन । यी बालबालिका भोलिका देशका भविस्य हुन, देशका खम्बा हुन । यिनीहरूको उज्ज्वल भविस्यको निम्ति सम्बन्धित सबै पक्षले सक्ने जति सहयोग गरिदिउन । यी अबोध बालबालिका तपाईंको सहयोगको आगमनको पर्खाइमा छ्न।
Nabintech