१९ बैशाख २०८१, बुधबार
ठुली फुपू अर्थात् कजिनी आमै, म र मेराे समाज

  • ज्ञानकुमार श्रेष्ठ

  • ४ श्रावण २०८०, बिहीबार ०७:४०

मानिसको जीवन–बाल, युवा, प्रौढ अनि मृत्यु नियमित प्रक्रिया हो । यो प्रकृतिको नियम हो । जन्म पछि मृत्यु सबैभन्दा कठोर सत्य हो । मानिसले जीवनमा विभिन्न खालको अनुभूति गर्दछ । बालपन मानव जीवनको स्वर्णिम संसार हो । युवा अवस्था जीवनको सबैभन्दा ऊर्जाशील समय हो । केही गर्छु भन्ने विश्वास, आफूलाई अलि बढी नै शक्तिशाली ठान्ने उमेर, जीवन यतिकै बित्छ होला भन्ने उमेर युवा उमेर ।

प्रौढता धेरे गम्ने, विगतको समीक्षा गर्ने र विगतबाट पाठ सिक्ने र सकेको केही गर्ने उमेर । धेरै जानिएको हुन्छ, धेरै सिकाएको हुन्छ । केही गर्नुपर्छ भन्ने हुटहुटी पनि हुन्छ तर जति मनले चाह्यो त्यति सकिँदैन । गर्नुपर्ने धेरै देखिन्छ, गर्न सकिने थोरै हुन्छ ।

वृद्ध अवस्था अह्राउने, सिकाउने र कोही सल्लाह लिन आउँदा आफूले जानेको सल्ला दिने उमेर हो । यो उमेरमा गर्नुपर्ने काम धेरै देखिन्छ, जीवनबाट धेरै अनुभवको सङ्ग्रह गरिएको हुन्छ । तर आफूले खासै धेरै गर्न सकिने अवस्था हुँदैन । सबैको राम्रो होस् भन्ने ठानिन्छ । सबैले राम्रो गरुन् भन्ने ठानिन्छ । तर आफैँले गर्न सकिने धेरै कुरा हुँदैन । न शरीरले साथ दिन्छ, न साधन र स्रोतले नै साथ दिन्छ ।

तथापि परिवारका सदस्यले अभिभावकत्व प्राप्त गरिरहेका हुन्छ । उनीहरूलाई आँट हुन्छ, उत्साह, हौसला र प्रेरणा मिलिरहेको हुन्छ । एक खालको आसिरवाद प्राप्त भइरहेको हुन्छ ।

वास्तवमा आफूलाई सबैभन्दा शक्तिशाली ठान्ने, सबै कुराले परिपूर्ण ठान्ने, जे चाह्यो त्यो पूरा हुन्छ भन्ने ठान्ने दिन त्यति बेलासम्म हुन्छ, जति बेलासम्म आफ्ना अभिभावक रहन्छन् । तबसम्म मान्छेको त्यो मनोबल रहन्छ । आफूलाई सबैभन्दा शक्तिशाली ठान्ने, परिपूर्ण ठान्ने, जे चाह्यो त्यही पूरा हुन्छ भन्ने अभिभावक हुँदासम्म मात्र रहेछ ।

जब अभिभावकहरू बिदा हुन्छन्, छाडेर जान्छन् , त्यस पछि जीवन के हो भन्ने कुरा मान्छेले बल्ल थाहा पाउन थाल्छ ।

विडम्बना भनौँ या संयोग हिजो २०८० असारको ३१ गते मैले आफ्नो ९७ वर्षकी ठुलीफुपू अर्थात् जेठी निनीलाई गुमाएँ । २०७७ सालमा मेरी आमा पनि  ९७ वर्ष कै हुनुहुन्थ्यो । आमालाई पनि ९७ गुमाइयो । हजुरआमा हजुरबुबा पनि त्यही ९७/९८ वर्षको उमेरमा नै गुमाइयो । दुई वटा काका बा काकी आमा सबै बितिसक्नु भयो । अभिभावकको रूपमा दुई वटी फुपूहरू हुनुहुन्थ्यो बाँकी फुपूहरूलाई पनि गुमाइयो ।

मरो घर भन्दा माथि घर भएकी ठुलीफुपू स्कुल जाँदा आउँदा वरिपरि देख्दा जति बेला पनि घरमा जे छ त्यो खान दिनुहुन्थ्यो । माया गर्नुहुन्थ्यो ।  फुपू अति दुःख गर्नुहुन्थ्यो, मेहनत गर्नुहुन्थ्यो । कहिल्यै खालि हात बस्नुहुन्नथ्यो । पेसा व्यवसाय गर्नुहुन्थ्यो ।

साहुकी छोरी, पढेलेखेको नभए पनि व्यवसायमा अब्बल हुनुहुन्थ्यो ।  खान लगाउन पुर्‍याउने परिवार भएरपनि बचत गर्नु उहाँको एउटा पहिचान थियो । मान्छेले भन्थे कजिनी कन्जुस छ । तर मलाई लाग्थ्यो मेरो फुपू बचत गरेर, लगानी गरेर पुँजी वृद्धि गर्न खप्पिस हुनुहुन्छ ।

अप्ठ्यारो परेको बेलामा गरिब जो छन्, दुःखी जो छन, तिनीहरूलाई सहयोग गर्न फुपू कहिले पछि पर्नु हुन्नथ्याे    । आफू भोको रहेर भए पनि अरूलाई बचाउनु पर्छ, अरूलाई खुवाउनु पर्छ भन्ने हाम्रो पारिवारिक मान्यतालाई फुपूले अब्बल भएर लागु गर्नुभएको थियो । फुपू आफ्ना सन्तानलाई मात्र होइन गाउँलेहरूलाई पनि बैङ्कमा धितो राखेर पनि आधुनिक खालको पेसा व्यवसाय गर्नलाई सहयोग गर्नुहुन्थ्यो । आफ्ना दाजुभाइ बाहेक ठुलाबा, कान्छाबाका छोराहरूलाई समेत भाइटिका लगाउनु हुन्थ्यो । सबैलाई आफन्त ठान्नुहुन्थ्यो । सबैलाई स्वजनलाई गर्ने बेबहार गर्नुहुन्थ्यो ।

फुपूका हामी १२/१५ भाइ भदाहरू थियौँ । हामीलाई समेत भाइटिका भर्न भ्याउनुहुन्थ्यो फुपू । फुपूले बुबाहरू मिल्नु भएन भने घरघरमा गएर  टीका लगाइदिनुहुन्थ्यो ।

दोरम्बाबाट एक जना दलित भिरपानी बसाइँ सरेर आउनुभयो । अर्थात् भिरपानीका मानिसहरूले आरनको कामको लागी उहाँलाई ल्याउनु भयो। । उहाँको चेलीबेटी थिएन । दलितलाई हाम्रो समाजले अछुत भन्थ्यो । छुन पनि अप्ठ्यारो मान्थ्यो । तर मेरी कजिनी फुपूले भाइटिका लगाउनुहुन्थ्यो उहाँलाई पनि ।

२०५४ सालमा म कलिलै उमेरेको थिए । त्यति बेला म विकास समितिको अध्यक्षमा निर्वाचित भए । त्यही समयमा झण्डै मेरो हजुरआमाको उमेर सरहको फुपू वडा सदस्य निर्वाचित हुनुभयो ।

फुपू र मेरो उमेर झण्डै ४० वर्षको फरक थियो । तर पनि फुपूले यति धेरै माया गर्नुहुन्थ्यो । जे म भन्थे त्यो  कुरामा फुपूको सकारात्मक बुझाई रहन्थ्यो । मलाई जे फुपूले निर्देशन गर्नुहुन्थ्यो म त्यही  मार्गमा चल्थेँ ।

खास गरी हिन्दु समाज भित्र चेलीबेटी, दिदी–बहिनीहरूलाई देवी सरह पुज्ने  प्रचलन छ । दिदी–बहिनी, फुपूहरूको  सेवा गर्न पाउनु भनेको एउटा सबैभन्दा ठुलो पुण्य कर्म हो भन्ने हाम्रो समाजमा बुझाई छ । आमाबुवाको सेवा गर्ने आमा बुबाको इच्छा पूरा गर्ने हजुरबा हजुर–आमाको पालनपोषण गर्नु, आफ्ना अग्रजहरूको सेवा गर्नु हामी मानवको धर्म भन्ने हाम्रो सामाजिक मान्यता रहिआएको छ ।

म  परिवारको कान्छो सदस्य ।  मेरो समाजमा त्यति धेरै  जिम्मेवारी थिएन । व्यवहार परिवारका अन्य सदस्यले धान्नु भएकै थियो । मेरा हजुरबा हजुर–आमा, आमा–बुबा, दाइ–भाउजू  र दिदीहरू हुनुहुन्थ्यो  । म कान्छो, मैले जे गरे पनि छुट हुन्थ्यो । मलाई जे चाहिन्थ्यो त्यो चिज प्राप्त हुन्थ्यो । त्यस कारण वास्तवमा सानो हुँदा जिम्मेवारी विहीनको  स्वतन्त्र मान्छे  थिएँ ।

त्यही भएर मैले आफ्नो इच्छा अनुसारको सबै चिजहरू गर्ने अवसर प्राप्त गरेको थिएँ । जब मैले आमा–बुवालाई गुमाएँ । आफन्तमा  ठूला काकाबा र काकी आमा बित्दै जानु भयो । दाइहरू पाका हुँदै जानु भयो ।  बिस्तारै मेरो समाजमा सामाजिक दायित्व पनि बढ्दै गयो । मैले त्यो अनुभूति गर्दै गएँ ।

सोही अनुसार बा-आमा हुन्जेल उहाँहरूको कर्तव्य जे उहाँहरूले  पूरा गर्नु हुन्थ्यो त्यो कुरा अब मैले वहन गर्नुपर्छ भन्ने मलाई महसुस हुन थाल्यो । तदनुरूप मैल फुपूलाई आफ्नो घरमा राखेर फुपूको सेवा गर्न चाहन्थे । फुपूको स्वास्थ्य कस्तो छ ? फुपू के चाहनुहुन्छ ? सकेसम्म ख्याल गरे । उहाँ वृद्ध हुनुभयो, उहाँका आमा–बुबा र  दाजुभाइको मृत्यु पछि  उहाँको सेवा गर्ने मेरो कर्तव्य ठाने सकेसम्म उहाँको हितमा कार्य गर्न चाहन्थे ।

औँसी–पूर्णिमामा, तिथि–श्रद्धामा उहाँहरूलाई भेट्ने घरमा नै डाक्ने र केही दिन घरमा बसौँ भन्ने मेरो प्रचलन थियो । त्यो म गर्दै पनि आइरहेको थिएँ । अनायास केही वर्ष अघिदेखि मेरी जेठीफुपूको  स्वास्थ्यमा समस्या आयो । उहाँलाई एलर्जी जस्तो चिलचिलाउने रोग लाग्यो । उहाँलाई बसेको ठाउँबाट उठ्न गाह्रो, बसेपछि उठ्न सहारा चाहिने अवस्था आयो । केही वर्षपछि त्यो  समाधान भयो, तर  जीउ चिलचिलाउन निको भएन ।  डाक्टरले पनि यसको सही कारण पत्ता लगाउन सकेनन् ।

नियमित चिलाउनु र एक प्रकारको एलर्जी जस्तो हुनु अर्कै रोगको कारण रहेछ ।  मेरो ठुली दिदीलाई पनि चिलचिलाउने रोग लाग्यो ।  छाला र नङ पहेँलो देखियो  । डाक्टरले  जण्डिस भयो भने । लामो समय जण्डिसको उपचार गरियो ।

सामान्यतः एक महिना प्राकृतिक उपचार हुन्छ जण्डिसको । तर उपचार गर्दागर्दै लामो समय गयो । दिदी  पीडामा हुनुहुन्थ्यो  जण्डिसले छाड्दै छाडेन ।

लामो समयपछि परीक्षणबाट थाहा भयो कि उहाँको पित्त थैलीमा क्यान्सर भएर पित्त थैलीबाट कलेजोसम्म क्यान्सरको जीवाणु सरिसकेको रहेछ । उपचार गर्ने सम्भावना भएन । केही समयमा  ठुली दिदी बित्नु भयो।

ठुली फुपूको २९ गते खुर्कोटको अस्पतालमा उपचार गर्न लैजाँदा इन्डोस्कोपि  गरेर हेर्दा अर्थात् भिडियो अक्सरे गरेर हेर्दा थाहा भयो की  उहाँको पाठेघरको ७० प्रतिशत क्यान्सर भएर कुहिसकेको रहेछ । उहाँको पिसाब आउँदा पिसाबमा रगत मिसिने अरू बेलामा पनि रगत देखिने यो समस्या उहाँले  अरूलाई भन्नु भएन । नातिनी बुहारीलाई मात्र भन्नुभएछ । अनि बाहिरी अङ्गमा घाउ, चोट भएको होला निको भइहाल्छ नि भनेर सामान्य उपचारमै समय बितेछ ।  अहिले थाहा भयो चिलचिलाउने रोग भनेको क्यान्सरको  एउटा मूल असर रहेछ ।

हाम्रो समाज आज पनि पछौटे छ । जोसँग जे ज्ञान छ, उसले त्यसलाई नै पूर्ण ठान्दछ । हरेक नागरिक आफूलाई डाक्टर, इन्जिनियर नै ठान्दछ अर्थात् आफूलाई विज्ञ नै  ठान्दछ । यो हाम्रो समाजको सबैभन्दा प्रमुख समस्या हो ।

हरेक विषयको विज्ञ हुन्छन् ।  विज्ञको सल्लाहमा चल्ने हो भने जीवन सरल हुन सक्दछ ।  खास गरी बच्चा र वृद्धको स्वास्थ्यमा  ख्याल पुर्‍याउनु पर्दछ ।  बच्चा  बोल्न, भन्न र अनुभूति गर्न सक्दैन । वृद्धहरूले पनि आफ्नो स्वास्थ्यको बारेमा के भएको छ  भनेर वास्तविक रूपमा चाल पाउन  सक्दैनन् ।  धेरै वृद्धहरूले त उपचार गराउनलाई  चासो पनि राख्दैनन् । अझै  पनि केही परिवारमा त छोराछोरीलाई ऋण लग्ला भनेर  उपचार गराउने कुरालाई प्राथमिकता पनि दिइँदैन । अनि कतिले  बुढाबुढी त हो भनेर खासै उपचारमा चासो पनि राख्दैनन् । यो हाम्रो समाजमा अझै पनि कतैकतै छुटपुटमा समस्याको रूपमा रहिरहेको छ ।

मेरो सबैमा निवेदन छ जन्मिसकेपछि जन्मेकाहरूले बाँच्न  पाउनुपर्छ । स्वास्थ्य उपचार पाउनु पर्छ, बाँच्न पाउने नैसर्गिक  अधिकार हो । बच्चा र वृद्धको  सेवा गर्नु, हेरचार गर्नु तीनको हित चाहनु सबैभन्दा ठुलो मानव धर्म हो ।

त्यही भएर बच्चाको पोषणलाई ध्यान दिऊँ, शारीरिक विकासमा ध्यान दिऊँ, मानवीय विकासलाई ध्यान दिऊँ, बच्चालाई शैक्षिक वातावरणको लागि विशेष अवस्था निर्माण गरौँ । त्यसै गरी वृद्ध वृद्धाको सावधानीपूर्वक रेखदेख गरौँ । प्रेमपूर्वक उहाँहरूलाई सम्मान गरौँ ।

पहिला पहिला आमा–बुवालाई धर्मको लागि बोकेर काशी लाने चलन थियो ।  पाटी–पौवा बनाउने चलन थियो । रूख–बिरुवा रोप्ने, चौतारो बनाउन चलन थियो । चौतारोमा वृक्ष हुर्किसकेपछि पानीसमेत राखिदिने प्रचलन थियो ।  यी सबै काम मानव धर्मको लागी  हुने गर्दथ्यो ।

आज पनि सामाजिक काम भएका छन् ।  आज धार्मिक र आत्मीय भाव भन्दा अलि बढी प्रतिष्ठाको लागि त्यस्ता काम हुने गरेका छन् । हिजोआज सामाजिक काम राजनीतिक लक्ष्यका साथ पनि गर्ने एउटा विकृति बढेको छ ।

केही नभएका कोही नभएकाको लागि पक्कै पनि कसैले केहीनकेही गर्नु नै पर्छ ।  सामाजिक  काम मानव धर्मको उत्कृष्ट कार्य हो । तर ती कार्यले मानिस भिखारी नबनुन् ।  मगन्ते नबनुन् भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । मेरी फुपूको जस्तै सामाजिक काम व्यक्ति र समाजको उन्नतिको लागि हनु पर्छ, अवन्नतीको लागि होइन ।

Nabintech