२७ आश्विन २०८१, आईतवार
तिहारमा माइती सम्झी आँसु झारिरहेकी चेली : खुसी रोज्दा खोसियो माइतीको माया

‘आमालाई सम्झिन त चाडबाड आउनु पनि नपर्दो रहेछ, खुट्टामा ठेस लागे पनि आमा सम्झिन्छु'


  • राधिका अधिकारी

  • २८ कार्तिक २०८०, मंगलवार १०:४९

 काठमाडौँ:दसैँ सकियो। रिताका आँखा कुनै दिन ओभानो हुन पाएनन्। मन भक्कानिरह्यो। भक्तपुर कटुञ्जेबाट उनको मन दरबार स्क्वायरतिर झरिरह्यो। तिहार लागेको छ। डाँडा, पाखा, बाटा र पसलभरि सयपत्री ढकमक्क देखिन्छन्।

सबैका दिदीबहिनी ‘मालाभरि उनेकी छु आफ्नो खुसी मैले, जता पनि पुग राजै घामभन्दा पहिले’ भन्ने गीत बजाएर माला गाँसिरहेका छन्। रिता सयपत्रीका पत्र–पत्रमा आमा मुस्कुराएको देख्छिन्, भाइ खुसी भएको देख्छिन्, अनि बरर आँसु झार्छिन्।

रिता घरकी एक्ली छोरी, उनका भाइ पनि एउटै छन्। तिहारमा उनका भाइको निधार खाली हुन्छ, रिताको हात। रिताका दिदीभाइले सँगै तिहार नमनाएको ५ वर्ष भैसक्यो। एक–अर्कालाई सम्झिएर यी दिदीभाइ हरेक साल रुन्छन्। तिहार सकिन्छ, आँसु बिर्सिन्छन् र नियमित काममा फर्किन्छन्।

‘आमालाई सम्झिन त चाडबाड आउनु पनि नपर्दो रहेछ। खुट्टामा ठेस लागे पनि आमा सम्झिन्छु। मेरी छोरी रुँदा पनि आमाको यादले छाती पोल्छ,’ रिताले आँखाभरि आँसु पार्दै भनिन्।

भौतिक दुरीका हिसावले धेरै टाढा छैन उनकी आमा र उनको बसाइ। तर यी आमाछोरीको भेट नभएको दशक नाघ्न लाग्यो। कारण बुबाआमाकी एक्ली छोरी रिताले सुटुक्क विवाह गरेपछि उनीहरुको मन भाँचियो। त्यसपछि रिताको भेट आमाबुबासँग भएको छैन। रिता घरीघरी बुबाआमाको सम्झनामा रुन्छिन्। उनका श्रीमान् मदन सम्झाउँछन् ‘आमाबुबाको मन एकदिन फर्किन्छ, पीर नगर।’ रिता त्यही बुबाआमाको मन फर्किएला, छोरीले खुसी साथ रोजेको साथ स्वीकार गर्लान् र आफ्नो पनि खुसी फर्किएला भन्ने आशमा छिन्।

रिताको जन्म भक्तपुरको नेवार परिवारमा भएको हो। उनका बुबा–आमाको आर्थिक अवस्था सामान्य थियो। स्कुल पढ्दा पढ्दै उनले बुबा–आमाको अभाव बुझिन्। अभावको खाडल पुर्न उनीहरुले गरेको संघर्ष देखिन्। उनलाई लाग्यो, ‘मलाई पढाउन बुबाआमालाई दु्ःख छ।’ स्कुल छोडेर रिता बुबाआमाको सारथी भइन्। उनलाई बुबाआमाले बहुत प्रेमले हुर्काएका हुन्। यो प्रेम जब रिताले आफूखुसी विवाह गरिन्, त्यसपछि पोखिएको छैन।

नेवार समुदायकी रिताले ब्राह्मण समुदायका मदन न्यौपानेसँग प्रेम विवाह गरिन्। झापाका मदन न्यौपाने र भक्तपुरकी रिताको भेट सन् २०१० तिर काठमाडौंमा भएको थियो। उनीहरुको यो भेट मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो। मदन र रिताकी ४ वर्षकी छोरी छन्। उनीहरुको दाम्पत्य जीवन सुन्दर छ। मदनका परिवारले रितालाई बुझेका छन्। छोराको प्रेम र जीवनसाथीलाई खुसीसाथ स्वीकार गरेका छन्।

तर, चेलीको मन घरमा जति सुख सुविधा भए पनि माइतीको अभाव केहीले पुर्न सक्दैन भन्ने रिताकी सासूले बुझेकी छिन्। बेला–बेला आफन्त भेला भएका बेला मन गाँठो पारेर भन्छिन्, ‘हामीबाहेक यसको जाने ठाउँ कहीँ छैन।’ रिताको बोली रोकिन्छ। केहीबेर हिक्का छोड्छिन्।

रिता र मदनको प्रेम भर्खर सुरु भएको थियो। सन् २०११ को सुरुवातमै मदन वैदेशिक रोजगारीका लागि दुबई गए। रितालाई ‘लङ डिस्ट्यान्स रिलेसनसिप’को खासै विश्वास लाग्दैनथ्यो। तर, उनले सोचेकी थिइन्, ‘ऊ नेपाल नफर्किंदासम्म म घरबाट जस्तै दबाब आएपनि विवाह गर्दिनँ।’ मदनको भिसा २ वर्षको थियो। त्यतिबेला रितासँग स्मार्टफोन थिएन। रिताले मदनसँग कुरा गर्न भक्तपुरका प्रायः साइबर धाइन्। १८ महिनासम्म यी दुईले यसैगरी प्रेम बचाए।

रिताको भाइ वैदेशिक रोजगारीका लागी दुबईमै थिए। रिता पनि विदेश जाने सोचमा जर्मन भाषा पढिरहेकी थिइन्। मदनले पार्लर सिकेर दुबई नै आऊ भनेपछि उनी पनि दुबई पुगिन्। त्यसपछि यी दुईको प्रेम झन बलियो बन्यो। आफ्नो प्रेमका बारेमा रिताले भाइलाई त भनेकी थिइन्। बुबाआमालाई भने भन्न सकिनन्। उनलाई बुबाआमाले आफ्नो अन्तर्जातीय प्रेम स्वीकार नगर्लान् भन्ने लाग्यो। भन्छिन्, ‘भन्ने पनि बेला आउला अनि मिलाएर भन्छु भन्दाभन्दै भन्न सकिनन्। मेरो जीवनको सबैभन्दा ठूलो भूल नै आफ्नो खुसी बुबाआमालाई भन्न नसक्नु भयो।’

२०७२ सालको भूकम्पमा रिताको घर भत्कियो। रिताका दिदीभाइले केही सहायता गरे। रिताका बुबाले बाँकी ऋण काढेर घर बनाए। त्यही वर्ष रिता र मदन २ महिने बिदा मनाउन नेपाल आए। त्यो दुई महिना रिताले सबैभन्दा पीडामा गुजारिन्। मदन र रिताको विवाह गर्ने योजना थियो। रिताले कसैगरी घरमा भन्न सकिनन्।

‘भर्खर घर बनाएर ऋणमा डुब्नु भएको बुबालाई मेरो विवाह गरिदिनु भन्नै सकिनँ। मैले भन्न सकेको भए जात नमिल्ने केटासँग विवाह गर्दिन्नँ भन्नुहुन्थ्यो, हुन्नथ्यो थाहा छैन,’ उनी भन्छिन्, ‘एउटी छोरी यसरी विवाह गरिदिन्छु भन्ने बुबा–आमाको पनि सपना थियो। सायद सबैभन्दा ठूलो सपना नै यही थियो। त्यही सपना मैले भत्काइदिएँ। त्यसपछि आमा–बुबाको मन पलाउन सकेन।’  रिताले हिक्का छोडेर थपिन्, ‘मेरो भाइलाई मैले केही कुरा लुकाएको थिइनँ। तर विवाहको कुरा भन्न सकिनँ।’

रिता र मदनले त्यही वर्ष भद्रकाली मन्दिरमा विवाह गरे। यो विवाह पनि सजिलोसँग सम्पन्न भएन। २ दिनपछि रिता र मदनको दुबईको उडान थियो। रिता २ दिन अगावै घरबाट आजको फ्लाइट हो भनेर बुबाआमालाई छलेर मदनको घर पुगिन्। भोलिपल्ट बिहान भद्रकाली मन्दिरमा विवाह गरे साँझ दुबई उडिन्। यो रिताको जीवनकै सबैभन्दा कष्टकर क्षण थियो। दुबई पुगेर भाइलाई भनिन्। भाइ नमज्जासँग रोएँ।  उनले भने, ‘बुबाआमालाई अहिले केही नभन्नू। नेपालमै गएर मिलाएर भन्नु पर्छ।’

त्यसपछि २ वर्ष रिता वैदेशिक रोजगारीमै भइन्। बुबाआमालाई आफ्नो विवाहको कुरा भनिनन्। स्मार्टफोन, भिडिओ कलको जमाना सुरु भयो। यी दुई वर्ष रिताले आमाबुबासँग भिडिओ कलमा नियमित कुरा गरिन्। उनी घरका सासूससुरासँग कुरा गर्दा सिन्दुरटीका लगाएर भिडिओ कल गर्थिन्। माइतबाट बुबा–आमाको फोन आउनासाथ पहिला सिन्दुरटीका मेटाउँथिन्। बुबाआमा छोरीको विवाहको योजना बनाउथेँ, योजना सुनाउँथे। उनका ओठ मुस्काउँथे, मन भक्कानिन्थ्यो।

‘भक्कानो छातीमा लुकाएर ओठमा हाँसो ल्याउनु पर्ने त्यो क्षण मेरालागि कति असहज थियो म शब्दमा व्यक्त गर्न सक्दिनँ। श्रीमान बुझ्ने नभइदिएको भए मेरो जीवन के हुन्थ्यो, मलाई नै थाहा छैन। बुबाआमाको मन दुखाएर रोजेको साथ मेरो जिन्दगीका लागि बहुत सुन्दर छ। तर बुबाआमालाई बुझाउन सकिनँ। यही कुराले मन दुखाउँछ। मान्छेको स्वभाव नै पाएको भन्दा नपाएको चिजले पोल्ने रहेछ। त्यसमाथि बुबाआमाको माया र काख…’ रिता बोल्दा बोल्दै रोकिइन्। निक्कैबेर आँसु मात्रै झारिरहिन्।

विश्व कोरोना महामारीको चपेटामा पर्यो। हेर्दाहेर्दै सँगै काम गरेका कयौं साथी मरे। कोरोना महामारीको समयमा रिता कतार र मदन दुबईमा थिए। प्लेन बन्द भए। सबै आ–आफ्नै ठाउँमा थुनिए। यहीबेला हो रिता र मदनलाई अब चाहिँ आफ्नो विवाहको कुरा भन्नु पर्छ भन्ने कुराले छटपटी भएको। पहिलो लहर सामान्य भएपछि रिता र मदन काठमाडौं आए। त्यहीबेला रिताको गर्भ बस्यो। रिताले फोन गरेर आमालाई भनिन् ‘आमा मैले विवाह गरेँ।’

आमाले भनिन्, ‘आफ्नो लागि रोजेको बाटो तिम्रो लागि ठिक होला। आफ्नो जीवन आफ्नै तरिकाले बाँच्नू।’  त्यसपछि यी आमाछोरीको फोनमा पनि कुरा भएको छैन।

उनका भाइ अहिले पनि वैदेशिक रोजगारीमै छन्। दिदीभाइको कुराकानी हुन्छ। तर, बुबा–आमाले स्वीकार नगरेपछि रिताका लागि माइती आँगन बिरानो भएको छ। उनका भाइले पनि बुबा–आमालाई सम्झाएर दिदीलाई माइत बोलाउन प्रयत्न नगरेका होइनन्। तर, सकेनन्। कहिलेकाहीँ उनी बुबाआमाका ताजा तस्बिर रिताको इन्बक्समा खसालिदिन्छन्। रिता तिनै तस्बिर हेरेर मन बुझाउँछिन्।

घरमा बुबाआमा एक्लै छन्। कहिलेकाहिँ उनीहरुका सञ्चोबिसञ्चोको खबर भाइले सुनाउँछन्।  ‘ठिक छन् भन्दा त ठिकै लाग्छ, बिरामी छन् भनेको दिन खाना खान सक्दिनँ। थाहा छैन, यो सिलसिला कहिलेसम्म चल्छ। एकदिन बुबा–आमाको मन फर्किने छ, आफ्नो बच्चाले आफ्नो खुसीका लागि गरेको गल्तीलाई क्षमा गरिदिनुहुने छ अनि आमाको काखमा धित मरुन्जेल रुने छु,’ रिताले छुट्दै गर्दा सुनाइन्, ‘यही आशमा मेरा चाडबाड अनि अन्य दिन बितिरहेका छन्।’

Nabintech