२० बैशाख २०८१, बिहीबार
यू–१९ विश्वकप क्रिकेट : नेपाल आज पाकिस्तानसँग भिड्दै

क्यानले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ


  • टाइम्स संवाददाता

  • १० माघ २०८०, बुधबार ०६:२१

काठमाडौँ: दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ । सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा भने नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सकेको थियो । उक्त खेलमा नेपाली बलरले न्युजिल्यान्डका स्नेहिथ रेड्डी र कप्तान ओस्कर ज्याक्सनको साझेदारी तोड्न नसक्नु नै हारको प्रमुख कारण बनेको थियो ।

न्युजिल्यान्डका लागि रेड्डीले अविजित एक सय ४७ र कप्तान ज्याक्सनले ७५ रन बनाएका थिए । जवाफी ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रन बनाएका थिए । तर, अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन् । नेपालका लागि कप्तान देव खनालले ३६ र तल्लो क्रमका ब्याट्सम्यान सुवास भण्डारीले अविजित ३३ रन बनाएका थिए ।

यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा छन् ।

नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।

समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् ।

यसैगरी समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन ।

समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू–१९ विश्वकपको साबिक विजेता राष्ट्र हो ।

नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपमा नेपालको सबैभन्दा ठुलो उपलब्धि प्लेट च्याम्पियनसिपको उपाधि हो । सन् २००६ को यू–१९ विश्वकप श्रीलंकामा आयोजना भएको थियो ।

त्यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो । त्यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो ।

प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाली टोलीको नेतृत्व कनिष्क चौगाइँले गरेका थिए ।

Nabintech