२० बैशाख २०८१, बिहीबार
बंगलादेशसँग पाँच विकेटले हार्‍यो नेपाल

  • टाइम्स संवाददाता

  • १७ माघ २०८०, बुधबार २०:३५

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।

टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने २५.२ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । 

बंगलादेशको जितमा ओपनर ब्याट्सम्यान सिजन आलमले अर्धशतकीय पाली खेले । उनले ५५ रन बनाए । उनले केवल ४३ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान अरिफुल इस्लामले पनि अविजित ५९ रनको योगदान गरे । 

आक्रामक रुपमा प्रस्तुत भएका अरिफुल इस्लामले ३८ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । नेपाली टोलीका बलर सुवाष भण्डारी एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा ४४ रन खर्चिएका थिए ।

Nabintech